बिर्तामोड , कात्तिक ५ । झापाको बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित नवनिर्मित दुर्गा मन्दिरमा देवी प्रतिमा पदस्थापन गरिएको छ ।

पुरानो तथा ऐतिहासिक दुर्गा मन्दिर स्थानान्तरण गरी देवी प्रतिमाको विधिवत् प्राणप्रतिष्ठा गरेसँगै नयाँ मन्दिर सर्वसाधारणका लागि पूजाआराधना गर्न खुल्ला गरिएको हो।
बिर्तामोड–भद्रपुर सडक खण्ड अन्तरगत सडक स्तरोन्नतिका क्रममा दुर्गा मन्दिर सडक क्षेत्रमा पर्दा स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएपछि गत कात्तिक १ गते घटस्थापनाका अवसरमा मन्दिरमा रहेको देवी दुर्गाको प्रतिमा वैदिक विधिपूर्वक मंगलधुनसहित स्थानान्तरण गरिएको थियो।
पुरानो मन्दिरका गणेश, कुमार, महालक्ष्मी, महासरस्वती, महाकाली र शिवलिङ्ग स्वरुप सबै प्रतिमाको स्थानान्तरण गरेर पं. दुर्गाप्रसाद खतिवडाको नेतृत्वमा ६ जना पण्डितहरुबाट प्राणप्रतिष्ठाका लागि पाँच दिन पूजा गरी बुधबार पदस्थापन गरिएको देवी गुठी मठमन्दिर संरक्षण तथा पूजा समितिका अध्यक्ष बासुदेव माझीले बताए।
करीब ४० रुपैयाँको लाखमा निर्मित मन्दिरमा स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरेर भीडभाड नगरी भक्तजनलाई पूजा गर्ने व्यवस्था गरिएको पूजा समितिका सहसचिव राजकुमार राजवंशीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्