बिर्तामोड , कात्तिक ९ । पूर्वकै प्रसिद्ध धार्मिकस्थल गरामनीको दुर्गा मन्दिरमा भक्तालुहरुले सामाजिक दुरी राखेर विहानैदेखि पुजाआजा गरिरहेका छन् ।

गरामनीको दुर्गा मन्दिरमा भक्तालुको लाइन

कोरोेना संक्रमणका कारण सामुहिक पुजाआजामा रोक लगाएको बताइपनि दर्शनका लागि आउने भक्तालुहरुका लागि सामाजिक दुरी राखेर दर्शन गर्न दिने व्यवस्था मिलाइएको गरामनी शक्तिपीठ मठमन्दिर समितिले जनाएको छ । कोरोना संक्रमणका कारण बिर्तामोड नगरपालिकाले नगरभरिका धार्मिकस्थलहरुमा पुजापाठ नगर्न र नगराउन निर्देशन दिएको थियो । गरामनीको ऐतिहासिक एवं पुरातात्विक महत्वको दुर्गा भगवतीको शक्तिपीठमा दशैंको महानवमीका दिन बिशेष पुजाआजा हुने गर्दछ । जसलाई पूर्वकै ठूलो मान्ने गरिन्छ ।

गेट बाहिरदेखिको लाइन
मन्दिरभित्र पुजा गर्दै भक्तजन

आज विहान २.३० बजेदेखि मन्दिरमा पुजा शुरु गरिएको हो । गरामनी शक्तिपीठ मठमन्दिर समितिका अध्यक्ष एकराज कार्कीले कोरोना संक्रमणका बावजुद धार्मिक आस्थालाई कायम राख्दै मन्दिर खुल्ला राखिएको जानकारी दिए ।

गरामनीको दुर्गा मन्दिरमा भक्तालुको लाइन

कोरोना महामारीको संक्रमणको खतरासँगै धार्मिक आस्थाको कुरा भएकाले दर्शनका लागि भक्तालुहरुलाई पूर्णरुपमा निषेध गर्न नसकिएको उनले बताए । भक्तालुहरुलाई व्यवस्थित गर्न प्रहरीलाई जिम्मा दिइएको छ । यस वर्ष स्वयंसेवक परिचालन गरिएको छैन ।सामाजिक दुरी भनिएपनि भक्तालुहरुको भीड देखिएको थियो ।

गरामनी बजार

त्यस्तै बिर्ताबजारको नवनिर्मित दुर्गा मन्दिरमा पनि भक्तालुहरुलाई पुजाआराधना गर्न खुल्ला गरिएको छ । बिहानैदेखि त्यहाँ भक्तालुहरुले पुजा अर्चना गरिरहेका छन् । पुरानो ऐतिहासिक दुर्गा मन्दिरबाट मूर्ति नयाँ मन्दिरमा स्थानान्तरण गरिएको थियो ।

बिर्ताबजारको दुर्गा मन्दिर अगाडि भक्तालुको लाइन
नयाँ मन्दिरमा सारिएको दुर्गा भगवतीको मूर्ति

गरामनीको दुर्गा मन्दिरमा यस वर्ष बली पूजालाई निरुत्साहित गरिएको छ । भक्तालुहरुले वलीका लागि ल्याएका पशुलाई भाकल गर्न दिई काट्न घर लिएर गएका छन् । सो मन्दिर वली पूजाका लागि प्रख्यात रहेको छ । विगतमा त्यहाँ सयौको सँख्यामा बोका , परेवा , हाँस र राँगाको वली चढ्ने गर्दथ्यो । ठूलो धार्मिक महत्व बोकेको त्यस मन्दिरमा दर्शनका लागि देशभित्रका मात्र नभएर भारतका भक्तालुहरु समेत आउने गरेका छन् ।

गरामनीको दुर्गा मन्दिरमा भाकल गरेर घर लान लागेका पशु

तर, बिर्ताबजारको दुर्गा मन्दिरमा भने वली पुजालाई यथावत राखिएको छ । वली पुजालाई यस वर्ष पनि निरन्तरता दिइएको नव दुर्गा मन्दिर पुजा समितिका अध्यक्ष वासु माझीले बताए ।

बिर्ताबजारको दुर्गा मन्दिरमा वली दिन लागिएका पशु

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्