बिर्तामोड , कात्तिक १७ । झापाको बिर्तामोडमा पछिल्लो समय कोरोना संक्रमण उच्च दरमा बढ्दै गएको छ ।

निजी स्वास्थ्य संस्थामार्फत कोरोना परीक्षण गर्न शुरु भएसंगै परीक्षणको दर बढेको र संक्रमितको संख्या पनि उच्च देखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बिर्तामोडमा कात्तिक महिनामा संक्रमण दर ह्वात्तै बढेको हो । कात्तिक १ देखि १७ गतेसम्म बिर्तामोडमा २०० जना संक्रमित थपिएका छन् । हालसम्म बिर्तामोडमा ३५८ जनालाई संक्रमण देखिएको छ । चाडपर्वको चहलपहलसँगै बढ्दो आवागमनले कात्तिक महिनामा निकै संक्रमित थपिएको बिर्तामोड नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताए । उनले त्यसतर्फ सजग र सतर्क रहन सबै नगरबासीहरुलाई आग्रह गरेका छन् । कार्तिकको १७ दिनभित्र बिर्तामोडमा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ७ जनाको मृत्यु भएकोमा ५ जना कात्तिकका हुन् । आज बिहान मात्र बिर्तामोड ५ का एक पुरुषको संक्रमणबाट मृत्यु भएको हो । आज पनि बिर्तामोडका १५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ७ महिला र ८ पुरुष छन् । ३० महिनाकी बच्चीदेखि ७५ वर्षसम्मका बृद्धलाई संक्रमण देखिएको सिनियर अहेव सापकोटाले बताए । उनीहरु वडा नं १ , ३ , ४ र ५ का स्थानीय हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्