झापा , कात्तिक २० । झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये अधिकांश ५० वर्षभन्दा माथिका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार बुधबारसम्म ५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यसमध्ये केही मात्र ५० वर्षभन्दा कम छन् । गौरादह , शिवसताक्षी र दमकका तीन संक्रमितको उमेर ५० वर्षभन्दा कम थियो । त्यस्तै भद्रपुरका एक दुईमहिने बालकको पनि संक्रमणबाट मृत्यु भएको थियो । त्यसबाहेक अधिकांश ५० भन्दा माथिका छन् । मृतकमध्ये ५० देखि ६० बीचका कम र ६० भन्दा बढी उमेर भएका धेरै भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए । पाका उमेर भएकालाई संक्रमण हुने क्रम बढेको र संक्रमण लागिसकेपछि त्यसबाट जोगाउन गाह्रो हुने गरेको उनले बताए । जाडो मौसम शुरु हुनै लाग्दा कोरोना संक्रमण झनै बढ्न सक्ने र त्यो बृद्धबृद्धाका लागि जटिल हुनसक्ने देखिएको हो । श्वासप्रश्वाससम्बन्धी रोगका अन्य बिरामीलाई थप स्वास्थ्य जटिलता हुनसक्ने भन्दै स्वास्थ्यकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । कनकाई नगरपालिकाको होम आइसोलेसनमा १९ जना कोरोना संक्रमित छन् । त्यसमध्ये ज्येष्ठ उमेर भएका ३ जनालाई जोगाउन गाह्रो भइरहेको नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताए । जाडो मौसम शुरु हुनै लाग्दा कोरोना संक्रमणबाट बृद्धबृद्धालाई जोगाउनु चुनौतीपूर्ण भएको उनले बताए ।
कोरोना संक्रमण र यसबाट हुने मृत्यु बढिरहेका बेला आउँदो जाडो नेपालका लागि थप चुनौतीपूर्ण र खतरनाक बन्ने चेतावनी स्वास्थ्यकर्मीहरुले दिएका छन्। जाडो महिनामा कोरोनासँगै अन्य रोगका बिरामी पनि बढ्ने हुँदा स्वास्थ्य उपचार र हेरचाहको राम्रो बन्दोबस्त नमिलाए ठूलो क्षति निम्तिन सक्ने भएकाले सरकारले त्यसो हुन नदिन तयारी थाल्नुपर्ने उनीहरूको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयका पछिल्ला तथ्यांकहरुले मुलुकमा कोरोना भाइरसको संक्रमणदर बढिरहेको, कोरोनाका सक्रिय संक्रमितमध्ये अधिकांश घरमै आइसोलेसनमा रहेको र कोरोनाका कारण ६० वर्षभन्दा माथिका धेरै व्यक्तिको ज्यान गइरहेको देखाएको छ। यस्तो अवस्थालाई चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरुले ‘बिजोगको स्थिति’ भनेका छन् । धुलिखेल अस्पतालको जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम प्रमुख डा. विराज कर्माचार्य अहिले विभिन्न कामकाजका सिलसिलामा बाहिर निस्केका युवा उमेर समूहका व्यक्तिले घरभित्र रहेका बाबु आमा वा अन्य वृद्ध आफन्तलाई कोरोना सारेको देखिएको बताउँछन्। ‘घरमै आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या बढेसँगै त्यहाँ बसिरहेका बृद्धबृद्धलाई पनि कोरोनाले छुन थालेको छ’, डा. कर्माचार्य भन्छन्, ‘यस्तो अवस्थामा युवाहरु त निको होलान्, तर बृद्धबृद्धाको ज्यान गइरहेको छ ।’
डा. कर्मचार्यका अनुसार घर बाहिर काम वा व्यापार व्यवसायको सिलसिलामा निस्कने व्यक्तिहरुको सम्पर्कबाट घरमा रहेका बाबुआमालाई छुट्टै राख्नुपर्छ।
उनी घर बाहिर निस्किरहने व्यक्तिबाट बृद्धबृद्धालाई छुट्टै राखेर खाना खुवाउने, छुट्टै टावेल प्रयोग गर्ने, सकेसम्म छुट्टै चर्पीको प्रयोग गर्ने, कोठाभित्र बस्दा हावाका लागि झ्याल खुल्लै राख्ने र कोठा गुम्म नपार्ने, यदि बृद्धबृद्धाको नजिक जानै परे मास्क लगाउने जस्ता उपाय उपनाउनु पर्ने बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्