सन्तोष अग्रवाल,
बिर्तामोड । बाह्रै महिना बिक्री हुने भक्काको व्यवसाय जाडोको शुरुवातसँगै फस्टाउँदै गएको छ । अरु समय केही ठाउँमा मात्र पाइने भक्का यतिबेला झापाका प्रायः सबै ठाउँतिर पाईन्छ ।

जाडो मौसममा तातो भक्काको स्वाद लिन नचाहने पारखी कमै होलान् । सडकको पेटी र चोकमा थापिएका भक्का पसलको वरिपरि भक्का किन्नेको भीड देखिन्छ । बिर्तामोडको सडक र चोकहरुमा बिहानपख भक्का बिक्री गर्ने निकै भेटिन्छन् । तर, पनि पालो नबसिकन तातो भक्का पाउन गाह्रो छ ।

बिर्ताबजारकी शेषवती राजवंशीलाई भ्याईनभ्याई हुन्छ । बिगत ३८ वर्षदेखि उनले भक्का बेच्दै आएकी छिन् । दिनभरि १५ किलो सम्मको पिठोको भक्का बेच्छिन् उनी । जसबाट उनलाई ५ हजार रुपैयाँ जति आम्दानी हुन्छ । बिर्तामोड – ४ की ५५ वर्षीया शेषवती भन्छिन् , ’यसैबाट घरपरिवार पाल्नुका साथै अलिकति जग्गा पनि जोडको छु ।’ बिर्तामोड ३ सैनिकमोडकी ५० बर्षिया पूर्णिमा राजवंशीले पनि भक्का बेच्न थालेको २३ बर्ष भइसक्यो । भक्काकै भरमा उनले जीवनयापन गर्दै आएकी छिन् । ‘नहँुदा पनि दिनमा हजार पन्ध्र सय जोगिन्छ ’ उनले भनिन् । कमाई राम्रो हुने भएपछि अहिले राजवंशीसगै गैर राजवंशीले भक्का बेच्न थालेका छन् । राजवंशी जातिको मुरै (भुजा) ले राष्ट्रिय मान्यता पाएजसरी भक्काले पनि व्यापकता पाउँदै गएको छ । राजधानी काठमाडौमा खोलिएका भक्का पसलहरुले राम्रो ब्यापार गरिरहेका छन् । आदिवासी राजवंशीहरुले जातीय परिकारको रुपमा परम्परादेखि भक्का बनाउँदै आएका छन्। उहिले घरायसी प्रयोजन र खासगरी अतिथि सत्कारको लागि यसको प्रयोग गरिन्थ्यो। अहिले व्यवसाय गर्ने गरिन्छ।

विगतमा अधिकांश राजवंशी खेतिपाती गर्ने गर्थे। वर्षभरिको कमाइ धानबाली थनक्याईसक्दा जाडो मौसम शुरु हुन्छ । ’त्यही मौसममा घर–घरमा भक्का पाक्ने गर्थ्यो,’ बिर्तामोड– ९ का बसन्त राजवंशी भन्छन्, ’भक्का खाएर जाडोको आनन्द लिने गर्थ्यौं। ’ अतिथि सत्कारको जातीय संस्कारले राजवंशी जाति सम्बृद्ध मानिन्छ । ‘मंसिर लागेपछि एकअर्काको घरमा पाहुना जाने, चेलिबेटीहरुलाई बोलाउने प्रचलन थियो र अझै बाँकी छ ’ बसन्तले भने, ’ अतिथिहरुलाई भक्का र पिठ (बगिया) खुवाएर मात्र बिदा गरिन्छ । ’ खासगरी मंसिरदेखि माघसम्म तीन महिना तराईमा जाडो हुन्छ । त्यही समय भक्का खाने गरिन्छ । चामलको पीठोलाई बाफमा राखेर बनाइने भक्कालाई स्वस्थकर मानिन्छ । ‘भक्कामा चिप्लोचाप्लो र मिसावट हुँदैन’ कस्तुरी मेडिकलका संचालक आइतवारीलाल राजवंशीले भने, ‘त्यसबाट स्वास्थ्यलाई असर पुग्दैन ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्