बिर्तामोड, कात्तिक २२ । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले मुटु रोगीको सम्पूर्ण उपचारका लागि क्याथल्याव सेवा सञ्चालनमा ल्याएको छ । शनिबार अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरी क्याथल्याव सेवा सञ्चालनमा ल्याइएको जनाएको हो ।


अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उमेश यादवले मुटु रोगीलाई सहज र गुणस्तरीय सेवा दिने उद्दश्यले क्याथल्याव सेवा सञ्चालनमा ल्याएको बताए । डा. यादवले मुटु सम्बेदनशील अंग रहेकाले रोगीहरुले रोगको पहिचान गरी समयमा नै उपचार नगरे मानव स्वास्थ्य नै खतरामा पर्ने जनाए । अस्पतालले मुटुरोगीको गुणस्तरीय उपचार सेवा प्रवाहका लागि भारतको चेन्नाइबाट मुटुरोग विशेषज्ञ डा. अवनकुमारको टोली ल्याएको छ । डा. अवनकुमारको पाँच जनाको टोली रहेको छ । डा. अवनकुमारले १० वर्षदेखि आफूले मुटु ट्रान्सप्लान्टको अनुभव संगालेकोले पूर्वाञ्चल क्यान्सर अस्पतालको व्यवस्थापन पक्ष सकारात्मक रहेकाले नेपाल आएर सेवा दिन शुरु गरेको जनाए ।

पूर्वाञ्चल क्यान्सर अस्पतालको क्याथल्याव नेपालकै उच्च प्रविधियुक्त र सुविधासम्पन्न रहेको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसार्इंले बताए । मुटुका रोगीले उपचारका लागि भारत जानुपर्ने बाध्यता हटेको उनको भनाई छ । अस्पतालले आगामी २ वर्ष भित्रमा मुटु प्रत्यारोपणसमेत गर्नेगरी तयारी थालेका प्रसाईंको भनाई छ । करिव ५० करोड रुपैयाँको लगानीमा क्याथल्याव सेवा सञ्चालनमा ल्याइएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्