हल्दिबारी , कात्तिक २३ । हल्दिबारी गाउँपालिका २ मा रहेको भेलागुडी सिमसार क्षेत्र पूर्वको आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदैछ ।

९६ हेक्टरमा फैलिएको त्यस सिमसार क्षेत्रमा हल्दिबारी गाउँपालिकाले गौरवको आयोजनाको रुपमा भेलागुडी लोकतान्त्रिक शहीद स्मृति पार्क निर्माण गर्न लागेको छ । गाउँपालिकाले दोस्रो गाउँसभाबाट सो आयोजना पारित गरेको थियो ।

८ करोड ३९ लाखको इस्टिमेट गरिएको सो आयोजनाअन्तर्गत ३ करोडमा सामुदायिक संग्रहालय बनाउने , झोडी सफा गर्ने , तारबेरा गर्ने , बाटो विस्तारको काम हुँदैछ । त्यस्तै बाँकी ६ करोड रुपैयाँले आधारभूत काम गरिदै छ । नजिकैको देउनिया खोलामा तटबन्ध , काठे पुल , पोखरीको तटबन्ध, पोखरीको वरिपरि रिङरोड , सामुदायिक भवन , शौचालय , पानीको फोहरा निर्माणजस्ता काम त्यस बजेटले गरिने भएको हो ।

आगामी चैत मसान्तभित्र ती सम्पूर्ण योजनाहरु सम्पन्न गर्ने लक्ष्य छ । संघीय सरकारको पर्यटन मन्त्रालयको पर्यटन प्रवद्र्धन साझेदारी कार्यक्रमअन्तर्गत पार्क निर्माण गरिन लागिएको हो । त्यसका लागि शुरुमा १ करोड ३० लाख रुपैयाँ निकासा गरिएको थियो । त्यस्तै प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्योसँगै हल्दिबारी गाउँपालिकाले पनि आफ्नो बजेट त्यसमा लगाएको छ । त्यस्तै हल्दिबारीमा शहादत प्राप्त गर्ने शहीदहरुको सालिक बनाउने र चिल्ड्रेन पार्क निर्माण गर्ने योजना पनि छ ।

भेलागुडी सिमसार क्षेत्र हल्दिबारीको लागि मात्र नभएर पूर्वकै पर्यटकीय क्षेत्र बन्न लागेको छ । त्यहाँ दैनिक ५ देखि ७ सयसम्म पर्यटक घुम्न आउने गरेको भेलागुडी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद लुईटेल बताउँछन् । सिमसार १९ हेक्टरमा फैलिएको छ । त्यसमध्ये ३ विगाहमा पोखरी छ । वन समितिले डिपीआर बनाएर सिमसार क्षेत्रको विकास गर्दै आएको छ । कतिपय विकासका काम वन समिति आफैले पनि गरेको छ । समितिले गत वर्ष महोत्सव लगाएको थियो । जसबाट १२ लाख रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष पनि महोत्सव लगाउने कार्यक्रम राखिएकोमा कोरोना महामारीका कारण प्रभावित भएको अध्यक्ष लुईटेलले बताए । त्यस्तै पोखरीमा गरिएको माछापालनबाट पनि वर्षेनि ५ लाख जति आम्दानी आउने गरेको वन समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्