बिर्तामोड, कार्तिक २४ । लिम्बु जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ्ग झापामा विवाद चर्किएर गएको छ ।

चुम्लुङ्गका जिल्ला अध्यक्ष भक्त खेवाङले आफू निकटका जिल्ला सदस्य शेसेहाङ फियाकलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि जिल्ला समिति विवादित बनेको हो ।
राष्ट्रिय परिषद सदस्य समेत रहेका फियाकलाई गत कार्तिक ५ गते पदाधिकारीहरुको उपस्थिति विनाको नियमित बैठकले जिल्ला सदस्यमा मनोनित गरेका थिए । मनोनित गरिएको केही दिनपछि नै उनले आफू अस्वस्थ्य भएको कारण देखाउदै फियाकलाई कार्यवाहक अध्यक्ष बनाएका थिए । अध्यक्ष खेवाङले पत्रमार्फत कावाको जिम्मेवारी दिएका हुन् ।
फियाकले कार्यवाहक पाएपछि कार्तिक २३ गते बैठक डाकेका थिए । तर पदाधिकारीसहित सदस्यहरुले अबैधानिक कार्यवाहक अध्यक्षले वोलाएको बैठक बहिस्कार गरेका थिए । अध्यक्ष खेवाङले संस्था मनखुसी चलाएको भन्दै पदाधिकारीहरुवीच लामो समयदेखि मतभेद रहदै आएको वताईएको छ । अध्यक्षले जहिल्यै पेलेर जाने रणनीति बनाएपछि उनका विरुद्ध पदाधिकारीसहित केही सदस्यहरुले विमति जनाउदै आएको चुम्लुङका जिल्ला सचिव जीवन सिंगकले बताए । जिल्ला अध्यक्षले महिना दिनअघि मात्र आफैले तानेर ल्याएका सदस्यलाई कार्यवाहक अध्यक्ष बनाउने कार्य विधानविपरीत भएको उनले जिकिर गरे ।
उनले सामाजिक सञ्जालमा विचार राख्दै चुम्लुङ झापामा अध्यक्ष खेवाङको विधानविपरीत गतिविधिले सिंगो चुम्लुङको गरिमामा आँच पुगेको बताएका छन् । उनका अनुसार चुम्लुङ्ग झापामा देखिएको कलहका बारेमा आगामी मंसिर ८ गते बैठक डाकिएको छ ।
२०७४ सालमा सम्पन्न चुम्लुङ्ग झापाको १० औं जिल्ला अधिबेशनबाट खेवाङको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन भएको थियो । चुम्लुङ्ग झापामा देखिएको विवादका बारेमा केन्द्रीय समितिमा समेत छलफलको विषय वनेको छ ।