मनिषा चम्लागाईँ । झापा ।
कोरोना संक्रमणका कारण मृत्युदर वृद्धि भएपछि झापामा शव व्यवस्थापनमा समस्या उत्पन्न हुन थालेको छ । संक्रमणका कारण जिल्लामा दैनिक सरदर ४÷५ जनाको मृत्यु हुन थालेको छ । कोरोनाबाहेकका रोग लागेर मृत्यु हुने दर त छदैँ छ ।

झापा अर्जुनधाराका एक वृद्धको कोरोना संक्रमणका कारण घरमा नै मृत्यु भयो । शव व्यवस्थापनका लागि नगरपालिकाले नेपाली सेनाको टोलीलाई खबर ग¥यो । विहान ७ बजे मृत्यु भएपनि शबलाई घाटसम्म पु¥याउनका लागि नेपाली सेनाको टोली ११ बजे आइपुग्यो । सेनाको टोली त आयो तर, नगरपालिकासँग शव वाहन नहुँदा एम्बुलेन्सको सहारा लिनु परेको थियो ।

फाइल ः तस्बिर

“अब त एम्बुलेन्स भन्दा पनि शव वाहन प्रमुख आवश्यकता बन्यो” नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले भने, “संक्रमणका कारण घरैमा मृत्यु भएका वृद्धको शव व्यवस्थापनका लागि लामो समय खर्चनु प¥यो, बिर्तामोड नगरपालिकासँग शव वाहन माग्दा नगरभन्दा बाहिर नलाने भनेपछि नगरकै एम्बुलेन्स प्रयोग ग¥यौँ ।” बस्नेतले शव वाहन खरिदका लागि अब हुने कार्यपालिकाको बैठकबाट निर्णय गर्ने जानकारी दिए ।

झापाकै मेचीनगर नगरपालिकाले पनि शव वाहन खरिद गर्ने निर्णय गरिसकेको छ । नगरपालिकाका प्रवक्ता नविन बरालले शव वाहन नहुँदा शव व्यवस्थापनमा कठिनाइ झेल्दै आउनु परेको सुनाए । “नगरपालिकाका कोरोना संक्रमितको विराटनगरमा मृत्यु भए शव घाटसम्म पु¥याउँदा रात परिसकेको हुन्छ” बराल भन्छन्, “आफ्नो शव वाहन भएपछि केही सहज होला ।”

झापाको दमक नगरपालिकाको शव वाहन छ । तर, बिग्रिएका कारण सबै स्थानमा सहजरुपमा पु¥याउन नसक्ने दमक नगरपालिकाका शव वाहन चालक धनकुमार लिम्बूले बताए । “हाम्रो शव वाहन धेरै टाढासम्म जाँदैन, दमक र छिमेकी पालिकाहरु कमल गाउँपालिका, शिवसताक्षी नगरपलिका, उर्लाबारी नगरपालिका लगायत स्थानमा होम आइसोलेसनमा मृत्यु भएकाहरुको शव घाटसम्म पु¥याउछौँ” लिम्बूले भने, “हिजोआज त दैनिकजसो शव ओसारपसार गर्नुपर्छ ।” बिराटनगर, धरानमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको शव भने नीजि शव वाहनले ल्याउने गरेको लिम्बू बताउँछन् ।

आफ्नै खर्चमा पीपीइ


दमकमा नै सर्वनान्द भट्टराई स्मृति प्रतिष्ठानले शव वाहन सञ्चालनमा ल्याएको छ । विराटनगर, धरान साथै जिल्ला भित्र मृत्यु हुनेको शव ओसारपसार गर्दै आएको प्रतिष्ठानका सञ्चालक शेखर भट्टराईले बताए । सम्बन्धित पालिकाले पीपीइको व्यवस्थापन नगर्दा भने आफैँ पिपिइ किनेरसमेत शव ल्याउनुपर्ने अवस्था आएको भट्टराई बताउँछन् । “मेचीनगरको धुलाबारी र शिवसताक्षीको धरमपुरमा कोरोना संक्रमणको कारण मृत्यु भएका नागरिकको शव ल्याउन हामीले आफैँ पिपिइ किन्नु प¥यो” भट्टराई भन्छन्, “त्यसको रकम अहिलेसम्म स्थानीय तहले दिएका छैनन्, स्थानीय तहले दिएका पीपीइ पनि साधारण तरकारी बारीमा काम गर्नेले लाउने जस्ता उपलब्ध गराउँछ ।” स्थानीय तहहरुले मास्क पनि साधारण खालको उपलब्ध गराउने गरेको भट्टराईको दुखेसो छ । मानवीय सेवाको भावले मात्र आफूहरु काम गर्दै आएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख श्रवणकुमार तिमिल्सिना भने शव वाहन चालकका लागि आवश्यक पीपीइ नियमित रुपमा उपलब्ध गराउँदै आएको बताउँछन् । “जिल्ला स्वास्थ्य कार्यालय झापा र स्थानीय पालिकालाई पीपीइ लगायतका सुरक्षा सामग्रीको व्यवस्थापनको जिम्मा दिइएको छ” प्रमुख तिमिल्सिनाले भने, “पीपीइ नपाएको भन्ने सूचना नै अहिले मात्र भयो, म यो विषयमा बुझ्ने छु ।”


झापाको बिर्तामोड नगरपालिकाको भने शव वाहन छ । नगरपालिकाले नगरभित्रका नागरिकको शव व्यवस्थापन आफ्नै शव वाहन मार्फत् गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए । एम्बुलेन्स चालक संघले सञ्चालन गरेको शव वाहनका चालक चन्द्रबहादुर बिश्वकर्माले सुरक्षाका आवश्यक सामग्री उपलब्ध नहुँदा कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शब व्यवस्थापन गर्न समस्या भएको बताए । उनले पीपीई लगायतका सामग्री भए काम गर्न सहज हुने समेत धारणा राखे ।

हेलचेक्राइ भयो–सेना

झापामा कोरोना संक्रमणको कारण मृत्युहुनेहरुको शव नयाँ श्री नाथ गणको नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने गरेको छ । पालिकाले समयमा नै शव वाहनको व्यवस्था गर्ननसक्दा सेना बढी समय खर्च गर्नु परेको शव व्यवस्थापन टोलीका एक सैनिक अधिकृतले बताए । उनका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या बढेसँगै प्रत्येक पालिकाले शव वाहनको व्यवस्था गर्नुपर्ने जनाए । उनले सम्बन्धित पालिकाले शव व्यवस्थापनका लागि आवश्यक स्प्रे, सेनिटाइजरलगायतका सुरक्षा सामग्रीको व्यवस्थापन गर्ने विषयमा समेत हेलचेक्राइ गर्दै आएको बताए ।

सरोकारवालासँगै छैन यकिन तथ्यांक

जिल्लामा कति शव शाहन छन् भन्ने यकिन तथ्यांक सरोकारवाला निकायमा समेत नभएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय झापामा शव वाहनको तथ्यांक नरहेको पाईएको हो । जिल्ला प्रशासन कार्यालय झापाका नायब सुब्बा पदम ओझाले जिल्लामा सञ्चालनमा रहेका शव बाहनबारे आफुलाई केही जानकारी नरहेको बताए । “त्यो जीवनजीलाई थाहा हुन्छ” उनले भने–“उहाँहरु समेत भएको टीमले यसको बिवरण राखेको हुन्छ, उतै बझ्नु होला ।” स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चम्लागाईँले झापामा चारवटा शब बाहन सञ्चालनमा रहेको बताए । तर, स्थानीय तहमध्ये बिर्तामोड, दमक र गौरादहको बाहेक निजीस्तरबाट थप दुईवटा शब बाहन सञ्चालनमा रहेको पाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्