झापा , कात्तिक २५ । नेपाली काँग्रेस झापाका जिल्ला सदस्य, लोकतान्त्रिक आन्दोलनका योद्धा, नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति नेपालको निधनप्रति नेपाली काँग्रेस झापाले गहिरो दुःख व्यक्त गरेको छ ।
हल्दिबारी माबिका पूर्व शिक्षक तथा नेपाल शिक्षक संघ झापाका जिल्ला सदस्य, रेवतीरमण नेपालको कोरोनाका कारण नोबेल मेडिकल कलेज बिराटनगरमा भएको असामयिक निधनको घटनाले नेपाली काँग्रेस झापा स्तब्ध र मर्माहत भएको नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाद्वारा मंगलबार जारी शोक बिज्ञप्तिमा उल्लेख गरिएको छ । उनी नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति रहेका थिए । दुई कार्यकालसम्म सफलतापूर्वक रेडक्रसको नेतृत्व संहालेका उनी सामाजिक गतिविधिमा पनि उत्तिकै सक्रिय रहेका थिए ।
मेची अञ्चल अस्पतालमा गरिएको स्वाव परिक्षणबाट कोरोना पोजेटिभ रिपोर्ट आएपछि गत गत कात्तिक १५ गते उपचारका लागि उनलाई नोवेल अस्पताल विराटनगर भर्ना गरिएको थियो । उपचारकै क्रममा भएको असामयिक निधनप्रति गहिरो शोक प्रकट गर्दै नेपाली काँग्रेस झापाले बुधबार जिल्लाभरिका सबै पार्टी कार्यालयहरु बन्द गर्ने र जिल्ला पार्टी कार्यालयमा मंगलबारबाटै तीन दिन पार्टीको झण्डा आधा झुकाइने शोक वक्तब्यमा उल्लेख छ ।
‘लोकतन्त्रको संस्थागत बिकास, लोकतान्त्रिक संस्कार र पहिचानका लागि अहोरात्र क्रियाशील रेवतीरमण नेपाल गहिरो अध्ययन, परिणाममुखी तार्किक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । भाषिक, शैक्षिक र सामाजिक क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदान हाम्रा लागि सदा स्मरणीय रहनेछ’–सभापति थापाद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।
पितृवियोगको असीम पीडा र शोकको यस घडीमा शोकाकुल अवस्थामा रहेकी उनकी श्रीमती वेदकुमारी नेपाल, छोरा बुहारीहरु सागरमणीं–अनिता, सुदर्शनं–आश्मा र सुजन–ंगोमा नेपाल तथा छोरीहरु गोमा सापकोटा र रञ्जु शिवाकोटी, चार नाति, चार नातिनी लगायत आफन्त र नातेदार लगायत सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै काँग्रेसले ब्रम्हलिन आत्माको चिर शान्तिको कमनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
स्वर्गीय नेपालको मंगलबार नै पवित्र कनकाई नदीमा हिन्दू विधिपूर्वक दाहसंस्कार गरिएको छ ।