झापा , कात्तिक २६ । झापामा कोरोना संक्रमणबाट मृत्यु हुने मृतकको सँख्या बढेसँगै नेपाली सेनाले थप शव व्यवस्थापन गर्न सक्नेगरी पूर्वतयारी गरेको छ ।

अहिले झापामा प्रत्येक दिन ३ देखि ४ जनासम्म कोरोना संक्रमितको मृत्यु हुने गरेको छ । ती मृतकहरुको शव व्यवस्थापन चारआलीस्थित नयाँ श्रीनाथ गणका सेनाले गर्ने गरेका छन् । मृतकहरुको सँख्या बढ्दै जाँदा गणले शव व्यवस्थापनका लागि थप सेनालाई पूर्वतयारीमा राखेको हो । हाल शव व्यवस्थापनका लागि ४ वटा सैनिक टीम परिचालित छन् । एउटा टीममा तीन जना जनशक्ति संलग्न छन् । मृतकको सँख्या बढ्न सक्ने अबस्थालाई हेरेर गणले करीव ४० जना सैनिकलाई तालिम दिएर पूर्वतयारीमा राखेको जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या बढ्दै गएमा शव व्यवस्थापनका लागि अझ थप जनशक्तिको आबश्यकता हुने भएकाले अहिले नै तयारी अबस्थामा राखिएको गणपति अमरजंग थापाले बताए । ‘हामी दिनमा १०–१५ जनासम्म मृत्यु हुँदा शव व्यवस्थापन गर्न सक्ने क्षमता राख्छौं’ उनले भने , ‘ त्योभन्दा धेरैको मृत्यु भएमा अर्को उपाय खोज्नु पर्ने हुन्छ ।’ नेपालमा पहिलो पटक भक्तपुरमा कोरोना संक्रमितको मृत्यु भएपछि शव व्यवस्थापन गर्न समस्या हुँदा कुशल रुपमा नेपाली सेनाले गरेको देखेर शव व्यवस्थापनको जिम्मा सेनालाई दिइएको बताउँदै गणपति थापाले सेनासँगै मृतकको परिवार , स्थानीय तहको जनशक्ति र स्वास्थ्यकर्मीले पनि शव व्यवस्थापन गर्न सक्ने व्यवस्थाका विषयमा छलफल भइरहेको जानकारी दिए । प्रोटोकल अनुसार स्वास्थ्य सावधानी अपनाएर ती सम्बन्धित पक्षहरुले शव व्यवस्थापन गर्दा समस्या नहुने गणपति थापा बताउँछन् । अहिले सेनाले शव व्यवस्थापन गरिरहँदा भौगोलिक रुपमा सुगम भएको झापामा भने खासै अप्ठ्यारो नभएको उनको भनाइ छ । झापामा हालसम्म ६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सेनासँग तथ्यांक छ । त्यसमध्ये ५५ जनाको शव सेनाले व्यवस्थापन गरेको छ । ४४ जनाको शव जलाएको र ११ जनाको शव गाढिएको गणले जनाएको छ । त्यस्तै १४ वटा शवको व्यवस्थापन आफन्तले गरेका छन् । उनीहरुले १३ वटा जलाएका थिए भने एउटा गाढेका थिए ।

जिल्लामा पहिलो पटक गत भदौ १२ मा कमलका कोरोना संक्रमितको मृत्यु भएको थियो । उनको रतुवा माई वृक्षरोपण आयोजनामा सेनाले गाढेर अन्त्येष्टि गरेको थियो । जिल्लाको पहिलो कोरोना संक्रमित दमकमा गत बैशाख ११ मा देखा परेका थिए । कोरोना संक्रमणबाट मृत्यु भएको अबस्था हेरेर सेनाले शव व्यवस्थापन गर्ने गरेको छ । अस्पतालमा मृत्यु भएमा , घरमा मृत्यु भएमा र लाँदालाँदै बाटैमा एम्बुलेन्समा मृत्यु भएमा फरक–फरक प्रक्रिया पुर्याएर सेनाले शव व्यवस्थापन गर्ने गरेको हो । अस्पतालमा मृत्यु भएमा मृतकको बसोबास रहेको ठाउँको स्थानीय तहले शव वाहन पठाएर लाश ल्याएपछि स्थानीय तह र मृतक परिवारले चयन गरेको ठाउँमा सेनाले अन्त्येष्टि गरिदिने गरेको छ । त्यस्तै घरमा मृत्यु भएमा स्थानीय तहले सेनालाई लिन एम्बुलेन्स पठाउनु पर्ने , प्रहरीले मृतकको घर सिल गर्नु पर्ने , स्थानीय तहले घरका परिवारका सदस्यहरुलाई पिसिआर परीक्षण गरी अलग्गै राख्नु पर्ने र सेनाले मृतकको घर स्प्रे गरिसकेपछि मात्र अन्त्येष्टि गर्ने गरेको छ । त्यसैगरी बाटोमा एम्बुलेन्समा मृत्यु भएमा स्थानीय तह र मृतक परिवारको समन्वयमा आफ्नो टोलीले अन्त्येष्टि गरिदिने गरेको गणले जनाएको छ । गणका अनुसार शव व्यवस्थापनमा खटिने सैनिक टोलीका लागि खाने बस्ने अलग्गै व्यवस्था गरी क्वारेन्टाइनमा राख्ने गरिएको छ । उनीहरुलाई १५–१५ दिनमा पिसिआर परीक्षण गर्ने गरिन्छ । अहिलेसम्म शव व्यवस्थापनमा खटिएका कोही पनि सैनिक कोरोना संक्रमित नभएको गणले जनाएको छ ।
शव व्यवस्थापन आन्तरिक खर्चमा
कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन गणले आफ्नै खर्चमा गरिरहेको छ । शव व्यवस्थापनका लागि आबश्यक बन्दोबस्तीका सामान पनि आफैले जोहो गर्नु पर्ने अबस्था रहेको गणले जनाएको छ । आफ्नो पालिकाको मृतकको शव व्यवस्थापन गर्दा कतिपय स्थानीय तहले सेनिटाइजर , स्प्रे , प्लाष्टिकजस्ता सामान पनि उपलब्ध नगराएको गणपति थापाले बताए । उनले ती सामान आन्तरिक खर्चबाट व्यवस्थापन गर्ने गरिएको जानकारी दिए । मृतक गाढ्ने खाल्डो खन्नेदेखि लिएर सबै काम सेनाले नै गर्ने भन्ने बुझाइ मानिसहरुमा रहेको बताउँदै गणपति थापाले शव व्यवस्थापनको काममा सबैले सहकार्य गर्न आबश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्