बिर्तामोड , कात्तिक २७ । कान्तिपुर साकोससँगको एकीकरण गर्दै हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य गणेश ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कोरोना महामारीका कारण संक्रमण फैलनबाट जोगिन ठूलो संख्यामा हुने उपस्थितिलाई घटाएर सामाजिक दुरी कायम गरी सानो आकारमा साधारणसभा गरिएको थियो ।
हाम्रो नेपालका अध्यक्ष भवानीप्रसाद दंगाल र कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वासुदेव भट्टराईको संयुक्त अध्यक्षतामा सम्पन्न साधारणसभामा दंगालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्थाले चालू आर्थिक वर्षका लागि तयार गरेको कार्यक्रमहरु पेस गर्दै गत आर्थिक वर्षको कार्यप्रगति विवरण सुनाएका थिए । कार्यक्रमका प्रमुख अतिथि ढकालले हाम्रो नेपाल साकोसलाई जिल्लाकै अग्रणी संस्थाको संज्ञा दिँदै कोरोना कहरको बीचमा पनि संस्थाले गरेको प्रगतिलाई मूल्याङ्कन गर्दा कोरोना परास्त गरेको भनी प्रशंसा गरे ।

साधारणसभामा मन्तब्य राख्दै नेफ्स्कुनका सञ्चालक एवम् झापा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारीले आफ्नो संस्थाको हालैको बैठकले संस्था एकीकरणकर्ताहरुलाई प्रोत्साहनको व्यवस्था गर्ने निर्णय भएको जनाए । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले सदस्यहरुको कोरोना बीमा गरिदिने जिल्लाकै पहिलो सहकारी संस्था भएकोमा हाम्रो नेपाल साकोसलाई धन्यवाद दिँदै भुक्तानीका लागि आउने सिफारिसमा कुनै विलम्व हुन नदिने प्रतिवद्धता जनाए । यस्तै राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाका प्रमुख मुना घिमिरेले हाम्रो नेपाल साकोस निरन्तर सफलता उन्मुख रहेकाले सञ्चालक समिति एवम् सदस्यहरुको सक्रियताका लागि बधाई दिइन् ।साधारणसभा तथा एकीकरण सभाका अर्का अध्यक्ष वासुदेव भट्टराईले कार्यक्रममा आमन्त्रितहरुलाई धन्यवाद दिँदै दुई संस्थाबीचको एकीकरणमा कुनै विमति नभएको स्पष्ट पारे । दमकमा हाम्रो नेपालको कान्तिपुर सेवा केन्द्र सञ्चालन हुनेगरी सोही बमोजिम नीति विधि र विनियममा चल्ने प्रतिवद्धता व्यक्त गरे । साधारणसभाकै बीचमा कान्तिपुर साकोसका सबै समिति उपसमितिका पदाधिकारीहरुलाई सम्मानपत्रसहित विदाइ गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्