बिर्तामोड कात्तिक २८ । तत्कालीन राजगढ गाविसका सचिव एवं समाजसेवी इन्द्रप्रसाद अधिकारीको आज साँझ निधन भएको छ ।

७४ वर्षिय अधिकारी बिर्तामोड नगरपालिका १ मा बसोवास गर्दै आएका थिए । उनी केही समयदेखि अस्वस्थ्य रहेका थिए । पं.कोमलप्रसाद अधिकारी र तुलसादेवी अधिकारीका छोरा अधिकारीको २००४ साल असार २७ गते तेह्रथुमको आठराईस्थित थोक्लुङ ढल्केबरमा जन्म भएको थियो । उनी २०२१ सालदेखि सामाजिक सेवामा क्रियाशील थिए । २०२५ सालबाट अनिवार्य निःशुल्क प्राथमिक पाठशाला केन्द्र नं. ९ गोलधापको चाक्लाढापमा तत्कालीन श्री ५ को सरकारले नियुक्ति दिएपछि उनी शिक्षण पेशामा सक्रिय रहे । उनले २०२७ सालसम्म शिक्षकको रुपमा सेवा गरे ।
२०२६ सालमा गाउँ पञ्चायतका लागि सचिव पदमा लोकसेवाको परीक्षा दिएर २०२७ सालमा भएको सिफारिसले उनी राजगढ गाउँ पञ्चायतमा नियुक्ति भएका थिए । सोही समयदेखि उनी ‘इन्द्र सचिव’का नामले जिल्लाभर परिचित भए । २०२० सालमा राजगढ आएका अधिकारीले आदर्श विद्या मन्दिर घैलाडुब्बा, भद्रपुर मावि र बनारसको आदर्श इन्टर मिडिएट कलेजबाट शिक्षा लिएका थिए । पढ्दा–पढ्दै शिक्षण पेशामा संलग्न भएका अधिकारीले छोटो समय शिक्षाको भूमिका निर्वाह गरे पनि शिक्षा क्षेत्रमा उनको महत्वपूर्ण देन छ । अधिकारीकै पहलमा पशुपति माविको जग्गा व्यवस्थापन, प्रहरी चौकी राजगढ र सामुदायिक अध्ययन केन्द्रका लागि १५ कठ्ठा जमिन प्रदान गरिएको थियो । सचिव रहँदा राजगढको विकासका लागि पु¥याएको योगदानको स्मरण गर्दै बाह्रदशी गाउँपालिकाले ‘इन्द्र सचिव’का नामले परिचित अधिकारीलाई केही दिनअघि नगद ५१ हजार ५ रुपैयाँ सहित सम्मान गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्