झापा , मंसिर २ । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बाह्रदशी र झापा गाउँपालिकाले तिहारपछि पनि कार्यालय संचालन नगर्ने भएका छन् ।
दुवै गाउँपालिका कार्यालयले सूचना जारी गरी भोलि मंसिर ३ गतेदेखि कार्यालय लगाउन नसक्ने जनाएका हुन् । बाह्रदशी गाउँपालिकाका एक ओभरसियरलाई कोरोना संक्रमण भएको छ । उनी हाल होम आइसोलेसनमा रहेका छन् । कोरोना भाइरसको प्रकोप अझै सामान्य नभएको भन्दै बाह्रदशी गाउँपालिका मंसिर ६ गतेसम्मका लागि बन्द रहने जनाइएको छ । गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले आज एक विज्ञप्ति जारी गरी मंसिर ३ र ४ गते गाउँपालिका कार्यालय , त्यस अन्तर्गतका विषयगत शाखाहरु , वडा कार्यालय , स्वास्थ्य केन्द्र र आधारभूत सेवा केन्द्रहरुको कामकाज बन्द रहने जनाएका छन् । उनले अब छठ पर्व सकिएर मंसिर ७ गतेदेखि मात्र कार्यालय नियमित रुपमा संचालन हुने बताएका छन् ।
त्यस्तै झापा गाउँपालिकाका १२ जना कर्मचारीहरु संक्रमित छन् । उनीहरु होम आइसोलेसनमा रहेकाले मंसिर ३ देखि ९ गतेसम्म कार्यालय बन्द रहने गाउँपालिका अध्यक्ष जयनारायण शाहले जनाएका छन् । उनले विषम परिस्थितिका कारण पर्न जाने असुविधाप्रति कार्यालय क्षमाप्रार्थी भएको उल्लेख गरेका छन् । झापा गाउँपालिका कार्यालय कात्तिक २७ गतेदेखि नै बन्द रहेको छ ।