बिर्तामोड मंसिर, ४ । तिहारलगत्तै सुरु हुने छठ पूजाको तयारीका लागि खोला, नहर र पोखरी सिँगार्ने काम सुरु हुने गर्छ । यो वर्ष भने छठ सुरु भइसके पनि झापाका अधिकांश घाटहरु सुनसान छन् । कोरोना संक्रमणको जोखिम रहेकाले श्रद्धालु भक्तहरुले घरमै पूजाको तयारी गरिरहेका छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पनि सुरक्षित रुपमा चाडपर्व मनाउन अनुरोध गरेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । उनका अनुसार सर्वसाधारणले घरमै बसेर छठ मनाउने तयारी गरेका छन् । “यस वर्ष कुनै पनि खोला, पोखरी, नहरमा छठ मनाइदैन” पाण्डेले भने, “हामीले १५ वटै स्थानीय पालिकाका प्रमुखलाई राखेर यो निर्णय गरेका हौँ ।”

झापाको बिर्तामोडका एक नागरिकले छठ पूजाको लागि घरभित्र गरेको तयारी ।


त्यस्तै, छठ पर्व मनाउनका लागि सधैं सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा पानी छाडिन्थ्यो । तर यो पटक भने नहरमा पानी आएको छैन । स्थानीय प्रशासनले पानी नछाड्न सुनसरी मोरङ सिँचाइ आयोजनालाई आग्रह गरेको थियो । तर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार धान काट्ने सिजन भएकाले तत्काल पानी नछाड्न सर्वसाधारणले नै आयोजनालाई आग्रह गरेका छन् । पानी भएका खोला र पोखरीका किनारमा पनि कुनै रौनक छैन । नत्र यतिबेला छठ पूजाका लागि सरसफाइ गर्ने, सिँगार्ने, झिलिमिली बनाउने र भजनले गुन्जायमान हुन्थ्यो ।


भीडभाड गर्दा सक्रमणको जोखिम उच्च हुने भएकाले अर्घ दिनमात्र घाटमा जाने तयारी विराटनगरवासीले गरेका छन् । आस्था र विश्वासको पर्व छठ अहिलेको अवस्थामा सुरक्षित रुपमा घरमा मनाउनु सबैको हितमा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्