झापा , मंसिर ५ । लाल–भागिरथा बानियाँ प्रतिष्ठानले साहित्यकार, कृषक र असल गृहिणी गरी तीन जना प्रतिभालाई पुरस्कृत गर्ने भएको छ ।

झापाको मेचीनगर –११ धाइजनस्थित बानियाँ गाउँमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानले साहित्यतर्फ विशिष्ट योगदान पुर्याएका कनकाई –३ निवासी साहित्यकार मित्रप्रसाद दाहाल, अग्र्यानिक कृषिमा समर्पित मेचीनगर –१४ का कृषक डिल्ली खतिवडा र असल गृहिणी अर्जुनधाराकी यशोदा बराललाई पुरस्कृत गर्ने भएको हो ।
साहित्यकार दाहाललाई ‘लाल भागिरथा बानियाँ उत्कृष्ट प्रतिभा पुरस्कार’, अग्र्यानिक कृषक खतिवडालाई ‘लाल भागिरथा बानियाँ स्मृति कृषि पुरस्कार’ र गृहिणी बराललाई ‘लाल भागिरथा बानियाँ असल गृहिणी पुरस्कार’ दिने पुरस्कार छनोट समितिले निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले बताए ।
तीनवटै पुरस्कारको राशि जनही रु. ३१ हजार रहेको छ । पुरस्कार छनोट समितिमा प्रतिष्ठानका अध्यक्ष बानियाँ, यसअघि पुरस्कृत प्रतिभा तथा मेची बहुमुखी क्याम्पस भद्रपुरका निवर्तमान क्याम्पस प्रमुख कमल गुरागाई र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी रहेका छन् ।
साहित्यकार दाहालले महाकाब्यलगायतका दर्जनौ कृति प्रकाशित गरिसकेका छन् भने कृषक खतिवडाले अग्र्यानिक कृषि विज्ञानका क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्दै आएका छन् । गृहिणी बरालले आफ्ना सन्तानलाई असल संस्कार र शिक्षा दिएर सुखी र समृद्ध परिवार निर्माणमा उदाहरणीय योगदान पुर्याएकी छन् ।
यही मङ्सिर २० गते प्रतिष्ठानको कार्यालय धाइजनमा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिने अध्यक्ष बानियाँले जानकारी दिए ।
प्रतिष्ठानले गत वर्षदेखि स्थानीय प्रतिभाहरुको खोजी गरी पुरस्कृत गर्दै आएको छ । गत वर्ष सामाजिक सेवातर्फ मेची बहुमुखी क्याम्पसका तत्कालीन प्रमुख कमल गुरागाई, कृषि विज्ञानतर्फ भद्रपुर नगरपालिका वडा नं. १० का भीम कुँवर र असल गृहिणीतर्फ मेचीनगर नगरपालिका वडा नं. १० की नीतु सुबेदीलाई पुरस्कृत गरिएको थियो ।
राजनीतिक, शैक्षिक र सहकारी क्षेत्रका झापाका अगुवा व्यक्तित्वका रुपमा परिचित बानियाँ र उनका दाजुभाइहरुले स्वर्गवासी पिता लालबहादुर बानियाँ र माता स्व. भागिरथा बानियाँको स्मृतिमा हरेक वर्ष तीन जना प्रतिभालाई पुरस्कृत गर्ने गरी रु. १० लाखको अक्षयकोष स्थापना गरेका छन् । सोही अक्षयकोषको व्याजबाट प्राप्त हुने रकमबाट पुरस्कार प्रदान गरिदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्