भद्रपुर , मंसिर ७ । हुलाकी सडकअन्तर्गत लिङ्क रोडका रूपमा रहेको चारआली—केचना सडकखण्डको चन्द्रगढी चौक पूर्व जिल्ला समन्वय समितिको मातहतमा रहेका सटरसम्मको (तीन सय मिटर) ट्रेड युनियन चौकभित्रको सडकको चौडा कम निर्माण भएको स्थानीयको गुनासो छ । निर्माण कार्यको गुणस्तरमाथि समेत प्रश्न उठेको सो सडक साँघुरो बनाइएको स्थानीयले गुनासो गरेका हुन् ।

सडक निर्माण ठेक्का लाग्नेबित्तिकै चन्द्रगढी चौक आसपासका घर टहरा हटाउन सडक विभागले ३५ दिने सूचना जारी गरेपछि केही कार्यालय तथा व्यक्तिहरूले सडक क्षेत्रसम्म ओगटिएका संरचना हटाएका भएपनि जिल्ला समन्वय समितिका सटर रहेका टहरा हटाइएको छैन भने भद्रपुर नगर प्रमुखको घर आसपासका मिचिएका संरचना समेत हटाइएको छैन ।
स्थानीय युवा सन्तोष आचार्यले फेसबुक स्टाटसमा– निजी घर भत्किन्छ कि भनेर आफ्नो मेन बजारको चौकमै रहेको घर क्षेत्रको ३०० मिटर बाटो कम चौडाइ बनाएर बाँकी क्षेत्रमा फराकिलो सडक बनाउन खोज्ने प्रगतिशील मेयर सावलाई सलाम भन्दै व्यंग्य गरेका छन् ।

भद्रपुर जेसीजका अध्यक्ष डिल्लीराम पोखरेल बिर्तामोड रोड समेत रहेको सो सडक खण्डलाई दुई लेनमा सीमित पारिनु नहुने बताउँछन् । अध्यक्ष पोखरेल चन्द्रगढीको व्यस्त सडकका रूपमा रहने सो क्षेत्रमा ४ लेनको सडक निर्माण हुनु पर्ने भन्दै सरकारी पक्षबाट गुणस्तरियताको निगरानी समेत नभएको बताउँछन् ।

स्थानीय बासिन्दा समेत रहेका अधिवक्ता लक्ष्मीप्रसाद अधिकारी सडक निर्माणबारे प्रतिकृया दिँदै विकासका रूपमा काम नभएर विनासको स्वरूपमा निर्माणको नाटक भएको बताउँछन् । उनका अनुसार समृद्ध भद्रपुरका लागि निर्माण हुनु पर्ने सडक साँघुरो बनाउने खेल कमिशन बटुल्ने काममा प्रयोग हुँदा विकासले विनासको नेतृत्व गरिरहेको हो ।

यसैबीच सो सडक निर्माणमा भइरहेको नालीको काममा निर्माण ठेकेदारले गुणस्तरहीन इटा प्रयोग गरिरहेको पाइएको छ । नाली निर्माणका क्रममा अधिकांस निर्माणस्थलमा निर्माण व्यवसायीले सम्झौताविपरित निर्माण सामग्री प्रयोग गरिरहे पनि सरकारी पक्ष रमिते मात्र हुँदा निर्माण व्यवसायीको मनोमानी चलिरहेको हो । सडक निर्माण गुणस्तरबारे स्थानीय राजनीतिक दल, सामाजिक अगुवा लगायत नियामकको भूमिकामा रहने सरकारी निकाय मौन देखिएका छन् । जसको बल निर्माण व्यवसायीमाथि थपिँदा सडक निर्माणको गुणस्तरमा मनोमानी चलिरहेको छ । त्यस्तै भइरहेको कालोपत्रेको काम पनि सम्झौता अनुसारको नहुँदा भत्कने, चर्कने समस्या आइसकेको छ । निर्माणकै चरणमा भत्केको सडक पछि मर्मत गरेर निर्माण ठेकेदारले सरकारलाई बुझाउने परिपाटीको कारण काम गुणस्तरहीन भएको स्थानीयहरू बताउने गर्छन् ।

प्रत्यक्षदर्शी स्थानीयका अनुसार निर्माणस्थलमा सरकारी प्राविधिक देखिने गरेका छैनन् । निर्माण ठेकेदारले पनि पेटी ठेकेदारको जिम्माका छोडेको सडक निर्माणको काम मजदुरको तजविजमा चल्ने गरेको छ ।
तीन वर्षमा सडक निर्माणको काम पूरा गर्ने गरी आर्थिक वर्ष २०७१–७२ बाट सुरू भएको यस आयोजनाका लागि तीन पटक म्याद थप गराएर समेत निर्माण पक्षले नाली बनाउने, कल्भर्ट बनाउने, वेश ग्राभेल भर्ने, ग्राभेलिङ गर्ने, आधार पिच तयार गर्ने र पिच निर्माण गर्ने गरी विभिन्न टुक्रामा काम गरिरहेका छन् । सडक निर्माणको गुणस्तर कायम राख्न स्थलगत रूपमा बस्नु पर्ने परियोजनाका प्राविधिक निर्माणस्थलमा कमै जाने गरेको कार्यरत मजदुर समेत बताउने गर्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्