झापा , मंसिर ९ । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन्।

देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। झापामा कति विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् भन्ने तथ्याँक छैन । त्यसबारे आफूहरुलाई थाहा नभएको शिक्षा समन्वय इकाईका प्रमुख राजकुमार विकले बताए । उनले कक्षा ११ र १२ को परीक्षाका लागि सम्बन्धित पालिकाले अनुमति दिएको र विद्यालयहरुले राष्ट्रिय परिक्षा बोर्डसँग समन्वय गरेकाले आफूहरुलाई थाहा नभएको जानकारी दिए । झापामा १ सय ४१ वटा विद्यालयले कक्षा ११ र १२ अध्यापन गराउने गरेका छन् । ती सबै विद्यालयमा परीक्षा केन्द्र राखिएको छ । राष्ट्रिय परिक्षा बोर्डले आफूहरुसँग समन्वय नगरेको जिल्ला शिक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । उनले परीक्षा केन्द्रहरुमा सुरक्षाको प्रबन्ध मिलाइएको जानकारी दिए ।
परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गरेका हुन्। विद्यार्थी धेरै रहेको परीक्षा केन्द्रले स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन राष्ट्रिय परिक्षा बोर्डले निर्देशन दिएको छ । कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ । कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ। परीक्षा मंसिर १६ मा सकिनेछ । सैद्धान्तिकतर्फ कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो।
४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा दिइने बोर्डले जनाएको छ। गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित भएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्