झापा मंसीर ९ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव हुन् नेत्रविक्रम चन्द ‘विप्लव’ । तर पछिल्लो ३ वर्षयता भूमिगत छन् । उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् तर पार्टीनिकट पत्रकारसँग भने भिडियो अन्तर्वार्तामा देखिँदै आएका छन् । केही दिनअघि मात्रै उनले पार्टीको मुखपत्र ई–रातोखबरलाई एक भिडियो अन्तर्वार्ता दिएका छन् ।


ग्रामीण इलाकाजस्तो लाग्ने अन्तर्वार्तास्थलमा उनी भिडियोमा देखिएका छन् । तर सुरक्षाकर्मीलाई भने उनको ‘लोकसन’ खोज्न मुस्किल भएको छ । पार्टीका कैयौं शीर्ष नेतालाई पक्राउ गर्न सफल प्रहरी विप्लवसम्म भने पुग्न सकेको छैन । सशस्त्र युद्धको तयारीस्वरुप सैन्य तालिम गरिरहेको सूचना सुरक्षा निकायसम्म पुगेको छ ।


केही समयअघिसम्म विप्लव भारतमा रहेको दाबी गर्दै आएको सुरक्षा निकाय पछिल्लो समय उनी नेपालमै रहेको बताउँदै आएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली विप्लवसम्म पुग्ने सूचना संकलनमा जुटेको छ । स्रोतका अनुसार प्रहरीको विशेष व्युरोको टोलीसमेत सक्रिय छ ।
तर विप्लवले इन्टरनेट, मोबाइललगायत सामग्री प्रयोग नगर्ने भएकाले उनको अवस्था पत्ता लगाउन असहज भएको सुरक्षा निकायको निस्कर्ष छ । एक सुरक्षा अधिकारीले भने, ‘उनी आफूमात्रै होइन उनको टिममा भएका कसैले पनि मोबाइल, इन्टरनेट प्रयोग गर्दैनन् । उनलाई अति गोप्य टोलीले मात्रै भेट्न पाउँछ । पार्टीकै स्थायी नेताको समेत विप्लवसम्म पुग्ने सहज अवस्था देखिएन । तर उनी नेपालको ग्रामीण इलाकामा बस्छन् भन्नेसम्मका सूचना हामीसँग छन् ।’ आन्तरिक सुरक्षामा विप्लव नेतृत्वको नेकपा नै मुख्य चुनौती रहेको सुरक्षा निकायको निष्कर्ष छ । कतिपय स्थानमा प्रहरी र सो समूहबीच झडपसमेत भएको छ ।


सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले गाउँ–गाउँ र जंगलमा समेत ‘सर्च एन्ड अरेस्ट अपरेसन’ चलाउँदै आएको छ । यस्तै पछिल्लो एक सातायता गाउँ–गाउँमा सो समूहको खोजीका लागि सुरक्षाकर्मीको टोली व्यापक परिचालन भएको छ । खासगरी पहाडी जिल्लाहरुमा सुरक्षाकर्मीको टोली खटिएको छ । पार्टीको केन्द्रीय संरचनामा पार्टी महासचिव नेत्रविक्रम चन्दको नियन्त्रणमा रहने गरी पाँच सदस्यीय सचिवालय र तीन सदस्यीय सल्लाहकार समिति छ उदय चलाउनेको कमान्डमा सैन्य ब्युरोसमेत गठन विप्लव समूहले गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विस्फोटक पदार्थ राखी जनमानसमा त्रास फैलाउनेदेखि चन्दा संकलन कार्यमा काममा विप्लव समूह सक्रिय छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्