झापा, मंसिर ९ । बर्दिबास–१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कार गरेर हत्या भएपछि आरोपीलाई कडा कारवाहीको माग गर्दै स्थानीयले विहानैदेखि उग्र प्रदर्शन गरेका छन् । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् ।

गोली लागेर घाइते हुनेमा स्थानीय युवा संजय न्यौपाने रहेका छन् । घाइतेको उपचार वर्दिवासस्थित पिनाकल हस्पिटलमा भइरहेको छ । उपचार संलग्न डा. इश्वर कार्कीका अनुसार न्यौपानेको तिघ्रामा लागेको गोली वारपार भएर छिरेको छ । उनको अवस्था गम्भीर रहेको छ ।
प्रदर्शनकारीहरुले निरन्तर प्रदर्शन गर्दै ढुंगामुढा गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुका साथै हवाइ फायर गरेपछि न्यौपानेलाई गोली लागेको प्रत्यक्षदर्शीहरुले जनाएको छ । भीड नियन्त्रणमा लिन हवाइ फायर गरेको भए पनि के कति राउन्ड हवाइ फायर भएको हो त्यसबारे यकिन नभएको इलाका प्रहरी कार्यलय बर्दिबासका डिएसपी राजन चापागाईँले जानकारी दिए। प्रदर्शनस्थलमा भीडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
आरोपितको घरमा लगाएको आगो अनियन्त्रित
बलात्कार आरोपितको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई बीच बाटोमै उनीहरूले रोकेका छन्।
घरमा लगाएको आगलागी भीषण हुँदै गएको डिएसपी चापागाइँले बताए। घरमा भएको सिलिन्डर पड्किएर आगो अनियन्त्रित भएको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्