झापा , मंसिर १० । बर्दिबासमा मंगलबार ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ ।

बर्दिबास–१ संजय भनेर चिनिने बुद्धिराज न्यौपानेको उपचारकै गएराति मृत्यु भएको हो ।
हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । बालिका दुई दिनदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भीड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।
स्थानीय र परिवारले मंगलबार बिहानैदेखि बालिकाको शव सडकमा राखेर प्रदर्शन गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकै उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । गएराति १ बजे न्यौपानेको ज्यान गएको बर्दिवासका बिष्णु बम्जनले जानकारी दिए ।बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्