बिर्तामोड , मंसिर १३ । विश्वव्यापी कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय धरापमा परेको बेला सरकारले आगामी वर्षलाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाउने भएको छ ।

नयाँ वर्ष सन् २०२१ लाई आन्तरिक पर्यटन वर्ष मनाउने सरकारले तयारी थालेको हो । त्यस विषयमा प्रधानमन्त्री केपी ओलीसँग छलफल भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए । बिर्तामोडमा थ्रीस्टार लेवलको सिद्धार्थ होटल ग्रान्ड सिटी प्रालिको आज उद्घाटन गर्दै पर्यटन मन्त्री भट्टराईले कोरोना महामारीका कारण खस्किएको पर्यटन व्यवसायलाई माथि उठाउन आगामी वर्षलाई आन्तरिक पर्यटन वर्ष मनाउन लागिएको जानकारी दिए । ‘ यस विषयमा प्रधानमन्त्रीसँग छलफल चलिरहेको छ ’उनले भने ,‘ सन् २०२१ मा नभए नेपाली नयाँ वर्ष २०७८ लाई मनाउँछौं ।’ मन्त्री भट्टराईले पर्यटकहरुलाई आकर्षित गर्नका लागि आन्तरिक पर्यटनको प्याकेज बनाउन पर्यटन व्यवसायीहरुलाई आग्रह गरे । जति नेपालीहरु नेपाल घुम्न आउँछन् त्योभन्दा धेरै नेपालीहरु विदेश घुम्न जाने गरेको तथ्यांक छ । घुम्न सक्ने वर्ग नेपालमा जन्मिएकाले आन्तरिक पर्यटनको संभावना नेपालमा राम्रो रहेको मन्त्री भट्टराईले बताए । उनले कोरोना महामारीका कारण अहिले बाह्य पर्यटकहरु नआएका बेला इलामको श्रीअन्तु , कन्याम , ताप्लेजुङको पाथीभरा , धनकुटाको भेडेटार , नाम्चेजस्ता पर्यटकीय क्षेत्रहरु राम्ररी चलेको उदाहरण प्रस्तुत गरे । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नकै लागि आफूले आगामी वर्षदेखि शनिबार र आइतबार हप्ताको दुई दिन विदा दिने प्रस्ताव पेस गरेको उनको भनाइ छ । ‘ दुई दिन विदा भयो भने मानिसहरु एक वा दुई रात घुम्न जान सक्छन्’ उनले भने ,‘ त्यसबाट आन्तरिक पर्यटनलाई टेवा पुग्न सक्छ ।’ कोरोनाका कारण ठूलो आक्रमणमा परेका पर्यटन व्यवसायीहरुको आत्मबल कमजोर हुन नदिन आफूले प्रयास गरिरहेको उनको भनाइ छ । नागरिक उड्डयन मन्त्री भट्टराईले एयर स्पेसको समस्या भएकाले विराटनगर र भद्रपुरको विमानस्थल विस्तार गर्ने योजना रहेको बताउँदै भद्रपुर विमानस्थललाई उत्तर सार्ने कि दक्षिण भन्ने विवाद निजी भएको धारणा राखे । त्यस विषयमा आफूले फेरि सरोकारवालासँग छलफल गर्ने जानकारी दिए ।
बिर्तामोडमा थ्रीस्टार लेवलको सिद्धार्थ होटल ग्रान्ड सिटी
देशभरका प्रमुख शहर एवं पर्यटकीय क्षेत्रमा सेवा विस्तार गर्न सफल सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिले होटल सिद्धार्थ ग्राण्ड सिटीसँग साझेदारी गरी सेवा शुरु गरेको हो ।

बिर्तामोडको मुख्य बजारमा खोलिएको होटलमा ३६ वटा डिलक्स, ६ वटा सुपर डिलक्ससहित ५१ वटा सुविधासम्पन्न कोठाहरु रहेका छन् । स्विमिङ पुल , हेल्थ क्लब , खुल्ला बगंैचा , सेमिनार हल , रुफ टपसहित ५ वटा बेग्लाबेग्लै रेष्टुरेन्ट, २ वटा कन्फ्रेन्स हल र चौबीसै घण्टा सेवा रहेको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका कार्यकारी निर्देशक कृष्ण न्यौपानेले बताए । ५ कठ्ठा क्षेत्रफलमा फैलिएको सो होटलका लागि करिव ५० करोड रुपैयाँ खर्च भएको संचालकहरुले बताएका छन् । देवीप्रसाद मैनाली अध्यक्ष रहेको सो होटलको प्रबन्ध निर्देशकमा गोपाल मैनाली , संचालकमा डा. लक्ष्मी मैनाली, डिल्लीराम मैनाली , होम पाण्डे, चित्र कुइकेल , कालीदास देवकोटा , तुलसी मैनाली, सुमन्ता मैनाली र होमप्रसाद मैनाली ‘सागर’ रहेका छन् । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिका कार्यकारी निर्देशक न्यौपानेले पश्चिमबाट उदय भएको सिद्धार्थ समूह पूर्वमा समेत सेवाग्राही माझ पुगेको बताए । २३ वर्षअघि कैलालीको टिकापुरबाट सानो खाजा घरबाट आफूहरुले सानो व्यवसाय शुरु गरी अहिले विस्तार भएर देशभर पुगेको उनले जानकारी दिए ।पूर्वी नेपालका प्रमुख पर्यटकीय क्षेत्रहरु पाथीभरा , कन्चनजंघादेखि लिएर इलामका रमणीय चिया बगानलाई जोडेर पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने संचालकहरुले बिश्वास लिएका छन् । साथै होटलले भारतको पश्चिम बंगालका भारतीय पर्यटकहरुलाई नेपाल भ्रमणका लागि आउन प्रोत्साहित गर्ने अध्यक्ष देवीप्रसाद मैनालीले बताए । कार्यक्रममा संघीय सांसद गणेशकुमार पहाडी , प्रदेश सांसद एकराज कार्की , उद्योग परिसंघका प्रदेश अध्यक्ष मीनप्रकाश मैनाली , बिर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला , बिर्तामोड उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीलगायतले शुभकामना मन्तब्य राखेका थिए । देवीप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत होम पाण्डे र संचालन डिल्लीराम मैनालीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्