बिर्तामोड , मंसिर १४ । शिक्षकलाई कार्यालयभित्र मुक्का हान्ने प्रधानाध्यापक बद्रीप्रसाद बाँस्कोटालाई भेलामा उपस्थित गराउने सहमति भएपछि बिर्तामोड १० विराटपोखरस्थित विराट आधारभूत विद्यालयमा अभिभावकहरुले लगाएको ताला खोलिदिएका छन् ।

विद्यालयमा लगाएको तालाबन्दी खोलिदै

विद्यालय व्यवस्थापन समितिसहित स्थानीय अभिभावकहरुको आज विद्यालयमा भएको भेलाले मौखिक सहमति गर्दै कार्यालयमा लगाएको ताला खोलिदिएको हो । अभिभावकहरुका तर्फबाट स्थानीय सिद्धिबिनायक टोल विकास संस्थाका अध्यक्ष वेनु पाठकले ताला खोलेका हुन् । सहमति अनुसार भोलि बिर्तामोड १० नं. वडाका जनप्रतिनिधि , विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघ , शिक्षक महासंघ, नगर शिक्षा शाखा र स्थानीय टोल विकास संस्थाका प्रतिनिधिको रोहवरमा मुक्का हान्ने प्रअ बद्री र मुक्का खाने शिक्षक इन्द्रलाई छलफलमा उपस्थित गराएर घटनाका विषयमा छलफल गराउने सहमति भएको शिक्षक रंगलाल न्यौपानेले बताए ।

अभिभावकहरुको भेला

आजको अनौपचारिक भेलामा प्रअ बद्री, शिक्षक इन्द्र , वडा सदस्य भक्तसिंह राजवंशी , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण विमली , पूर्व अध्यक्ष नारायण शिवाकोटी , अभिभावक शिक्षक संघका अध्यक्ष नरेश प्रसाई, नेकपाका प्रतिनिधि इन्द्र प्रसाई,सिद्धिबिनायक टोल विकास संस्थाका अध्यक्ष वेनु पाठकलगायत शिक्षक र अभिभावकहरुको उपस्थिति रहेको थियो । शिक्षकले कुटाइ खाएको घटनालाई लिएर अभिभावकहरुले बिहीबार विद्यालयमा तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्