झापा , मंसिर १५ । झापाका ११ वटा स्थानीय तहमा सोमबार एकसाथ १० देखि १५ शैय्याका अस्पताल शिलान्यास गर्न निर्देशन भएपनि ६ वटा स्थानीय तहमा मात्र शिलान्यास गरिएको छ ।

बिर्तामोड नगरपालिकाले यसअघि निर्माण शुरु गरिएको सिटी हस्पिटललाई नै स्तरोन्नति गर्ने भएको छ भने गौरादह नगरपालिका , शिवसताक्षी नगरपालिका , बुद्धशान्ति गाउँपालिका र झापा गाउँपालिकाले जग्गा ब्यबस्थापन गर्न नसक्दा निर्धारित मितिमा शिलान्यास गर्न सकेनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नति गरी ५, १० र १५ शैय्याको अस्पताल निर्माणको शिलान्यास एकैसाथ सोमबार गर्न झापाका ११ सहित देशका ३९६ स्थानीय तहलाई पत्राचार गरेको थियो ।

कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोगी हुने भएकाले मंसिर १५ गते एकैसाथ शिलान्यास गर्ने व्यवस्था गर्न मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ । देशभरका ३९६ स्थानीय तहको स्वास्थ्य संस्थामा ५,१० र १५ शैय्याको अस्पताल निर्माणका सूचीकृत गर्दै अर्थ मन्त्रालयमार्फत बजेट निकासा समेत भइसकेको मन्त्रालय जानकारी दिएको छ । यो चरणमा झापा जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकामा अस्पताल बन्ने भएको हो । बिर्तामोड नगरपालिकाको अनारमनी स्वास्थ्य चौकीलाई १५ शैंय्या, गौरादह नगरपालिकाको गौरादह स्वास्थ्य चौकीमा १५ शैय्या , कनकाई नगरपालिकाको सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्या , मेचीनगर नगरपालिकाको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्या , शिवसताक्षी नगरपालिकाको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्याको अस्पताल बनिने भएको हो ।

त्यस्तै बुद्धशान्ति गाउँपालिकाको बुधबारे स्वास्थ्य चौकीमा १० शैय्या , झापा गाउँपालिकाको टाघनडुब्बा स्वास्थ्य चौकीमा १० शैय्या ,कमल गाउँपालिकाको तोपगाछी स्वास्थ्य चौकीमा १५ शैय्या, गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्या, कचनकवल गाउँपालिकाको बनियानी प्राथमिक स्वास्थ्य केन्द्र १५ शैय्या र हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा १५ शैय्याको अस्पताल बनिने भएको छ ।
यसक्रममा मेचीनगर —१० स्थित धुलावारीमा निर्माण हुन लागेको आधारभूत अस्पतालको सोमबार मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा शिलान्यास गरे ।

सोमबार एकसाथ अस्पताल शिलान्यास गर्ने योजनाअनुसार मेचीनगरमा १५ शैय्याको अस्पतालको नगर प्रमुख आचार्य र उपप्रमुख उप्रेतीले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।
मेचीनगर स्वास्थ्य शाखा सहसंयोजक रामनारायण यादवले १८ करोड ६८ लाख २ हजार रुपैयाँको लागतमा अस्पताल बन्न लागेको जानकारी दिए ।
मेचीनगर—१० का वडाध्यक्ष सुदय पनेरुको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा अस्पताल सञ्चालनका लागि पालिकाहरुसँग समन्वय गरेर नेपाल सरकारले काम गर्न लागेको नगरपालिकाले जनाएको छ । मेचीनगर नगरपालिकाले जग्गा व्यवस्थापन गरेका कारण अस्पतालको शिलान्यास गरिएको हो ।

आगामी दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी अब नगरपालिकाले टेण्डर प्रक्रिया शुरु गर्ने छ । यो बहुवर्षीय योजना भएका कारण पालिकालाई यसवर्ष आंशिक र आगामी वर्ष बाँकी रकम पठाउने सरकारको तयारी छ । शिलान्यास कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, कार्यपालिका सदस्यहरु कृष्ण कनाल टीकाराम मग्रान्तीसहित विभिन्न वडाका जनप्रतिनिधिहरु, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, राप्रपाका मेचीनगर अध्यक्ष सुशिल आचार्य नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपानेलगायत विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको नगरपालिका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

त्यस्तै हल्दिवारी वडा न.१ स्थित गोलधाप स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी अस्पताल बनाइने भएको छ । त्यसको प्रदेशका सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले शिलान्यास गरिन् । कार्यक्रममा प्रदेश सांसद पूर्णसिंह राजवंशीको बिशेष आतिथ्यता रहेको थियो । हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा वडा नं १ अध्यक्ष त्रिलोचन सापकोटाले स्वागत गरेको कार्यक्रममा सर्वपक्षीय सहभागिता रहेको थियो । जग्गादाताको तर्फबाट अपुग जग्गा परिपूर्ति गर्ने प्रतिवद्धता धर्म शिवाकोटीले ब्यक्त गरेका थिए ।

त्यस्तै गौरीगंज गाउँपालिका वडा नं. ६ खजुरगाछीमा निर्माण हुन लागेको आधारभूत अस्पतालको सोमबार प्रदेश नं.१ आन्तरिक मामिला तथा कानुन मंन्त्री हिक्मतकुमार कार्कीले शिलान्यास गरेका छन् ।
नेपाल सरकारले चालु आर्थिक वर्ष २०७७–०७८ मा एकैसाथ देशभरमा ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने लक्ष्यअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले गौरीगंजमा १५ शैंय्याको अस्पतालको शिलान्यास गरेका हुन् । गौरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रका अनुसार १८ करोड रूपैयाँको लागतमा अस्पताल निर्माण हुन लागेको हो । त्यसमध्ये ३ करोड २३ लाख रूपैयाँ निर्माण कार्य शुरूवात गर्न गाउँपालिकामा प्राप्त भएको छ ।
आगामी दुई वर्षभित्र गौरीगंजमा निर्माण हुन लागेको १५ शैंय्याको अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ । १५ शैय्याको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटिनेछन् । आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा ती अस्पतालले दिनेछन् । संघीय सरकारको बजेट र डिजाइनमा स्थानीय सरकारले काम गर्ने जनाईएको छ ।

गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा अस्पताल सञ्चालनका लागि पालिकासँग समन्वय गरेर नेपाल सरकारले काम गर्न लागेको जनाईएको छ । शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य दिपक कार्की, कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत हेमचन्द्र नेम्वाङ, वडा अध्यक्षहरू मखना महतो, कुलप्रसाद गिरी, विजयप्रसाद सिंह, ईलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख धनन्जयकुमार साह, नेकपा गौरीगंज अध्यक्ष विद्यानन्द राजवंशी, कार्यपालिका सदस्यहरु राधा अधिकारी, जेठा मुर्मु, पूर्व गाविस अध्यक्ष विजय अग्रवाल, समाजसेवीहरू श्याम ढकाल, जयनारायण दास, उद्योग वाणिज्य संघ गौरीगंजका सचिव श्रवण गिरीलगायत विभिन्न संघसंस्थाहरूको प्रतिनिधिहरूको सहभागिता थियो । गौरीगंज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाले स्वागत गर्दै कार्यक्रमको ओैचित्यमाथि प्रकाश पारेका थिए ।
गौरीगंज गाउँपालिका वडा नं ६ खजुरगाछीमा यसअघि पनि २५ शैय्याको अस्पताल निर्माण भईसकेको छ । प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछी गौरीगंजलाई स्तरोन्नति गरी २५ शैय्या अस्पताल निर्माण भएको हो । उक्त भवन ३ करोड ६२ लाख रूपैयाँको लागतमा १८ महिनामा सक्नेगरी ठेक्का सम्झौता भएको थियो ।

२०६६ सालमा ठेक्का लागेर ६ विगाह १७ कठ्ठा क्षेत्रफलमध्ये ३ विगाहमा सो अस्पतालको करिव २ वर्षअघि निर्माण कार्य सकिएको थियो । पुष्पाञ्जली शंकरमाली कुनसालिङ्ग जेभी प्रालिले भवन निर्माणका लागि जिम्मा पाएको थियो ।
अस्पतालसंगै बनाईएको शव परीक्षण गृह खण्डहर भईसकेको छ । खोलाको डिलैमा रहेको शव परीक्षण गृह स्थानीयको लागि शौचालयको रूपमा परिणत भएको छ । अस्पतालको भित्री कोठाहरूमा वर्षाको समयमा पानी चुहिने गरेको छ भने अस्पतालमा घेराबेरा समेत छैन । हाल उक्त भवनमा ५ वेडको कोभिड अस्पताल सञ्चालनमा छ ।

त्यस्तै कनकाई नगरपालिकामा पनि नगर अस्पतालको सोमबार शिलान्यास गरिएको छ । नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले अस्पतालको शिलान्यास गरेका हुन् । सो अस्पताल १४ करोडको लागतमा निर्माण गर्ने लक्ष्य रहेको नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताए ।

झापा गाउँपालिकामा भने अस्पताल शिलान्यास हुन सकेन । गाउँपालिकाले १५ शैय्याको अस्पताल निर्माणको लागि स्वीकृति माग गरेपनि १० शैय्याको मात्र स्वीकृति उपलब्ध भएकाले अस्पताल शिलान्यास नगरिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए । “हामीले झापा गाउँपालिका–३ मा १ विगाह २ कठ्ठा जग्गा निःशुल्क प्राप्त गरिसकेका छौँ” साहले भने, “जग्गा प्राप्त भए पनि १० शैय्ैयाको मात्र स्वीकृति पाएकाले शिलान्यास नगरेका हौँ ।” १५ शैय्याको अस्पताल निर्माणका लागि आवश्यक पर्ने जनसंख्या पनि गाउँपालिकामा रहेको अध्यक्ष साह बताउँछन् । जग्गा व्यवस्थापन हुन नसकेको कारण शिवसताक्षी नगरपालिकामा पनि शिलान्यास हुन नसकेको गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गिता राईले बताइन् । जग्गाको विषयमा छलफल भइरहेकाले केही दिनभित्रमा शिलान्यास गर्ने उनले बताइन् । बुद्धशान्ति गाउँपालिकामा भने जग्गा नै उपलब्ध हुन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र चापागाईँले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्