बिर्तामोड, मंसिर १६ । टोलभरिका महिलाहरुको रकम लिएर फरार रहेकी बिर्तामोड नगरपालिका वडा– ३ की चन्द्रकला वाग्ले अधिकारी आफैँ प्रहरीको सम्पर्कमा आएकी छन् ।

अधिकारी मंगलबार आफैँ प्रहरीको सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।स्थानीयको एक करोडभन्दा बढी रकम ठगेर ती महिला असोजदेखि फरार रहेकी स्थानीय चन्द्र प्रसाईँले बताए । आफू पनि पीडित रहेको उनले बताए । सात लाख रुपैयाँ नगद र विवाहमा जाने भनेर श्रीमती र आमाबाट लगेको सुन फिर्ता नदिएको प्रसाईँले बताए ।

३८ वर्षिया अधिकारीले खासगरी श्रीमान् विदेशमा भएका महिलाहरुलाई ठगेको पाइएको छ । कोहीसँग सापटी, कोहीसँग व्याजमा गरी उनले धेरैजनासँग रकम लिएको प्रसाईँले बताए । त्यस्तै सुनको गहना लगाउन मागेकी चन्द्रकलाले कतिपयको गहना फिर्ता नदिएको बुझिएको छ ।
जग्गा दिन्छु भनी वैना गरेर अन्यत्र जग्गा पास गरिदिएको स्थानीय देवी राईले बताइन् । “मलाई जग्गा दिन्छु भनेपछि १३ लाख रुपैयाँ वैना दिएँ, पछि जग्गा त अर्कैलाई बेचिछन् ” राईले भनिन् । बिर्तामोड ३ शान्ति टोलमा उनको ९ धुर जग्गा र टीनको छानो भएको घर रहेको थियो । आफ्नो घरजग्गा बिक्री गरी उनी गत असोज २८ गते राति सपरिवारसहित फरार भएकी थिइन् । पाँचथर हिलिहाङ गाउँपालिकाको भालु चोक माइत भएकी चन्द्रकला २०६३ सालमा भवानी अधिकारीसँग विहे गरेपछि बिर्तामोड ३ को शान्ति टोलमा बस्दै आएकी थिइन् । परिवारका सदस्यहरुलाई थाहा नदिनु भन्दै गोप्य रुपमा महिलाहरुबाट रकम लिएकी उनले महिला समूहको रकमसमेत लिएर फरार भएको पीडित इन्दिरा तिम्सिनाले बताईन् ।

जग्गा बेचेर दिने भन्दै आफ्नो १ लाख ७० हजार रुपैयाँ लिएकी उनले टोलका महिलाले समूह खोलेर भेला गरेको साढे ५ लाख रुपैयाँ समेत ठगेको इन्दिराले बताइन् । उनले ठगी गरेको महिलाहरुको सूची लामो छ । चन्द्रकलाले देवी राईको १४ लाख २० हजार , कुलकुमारी राईको ४ लाख ६० हजार , गोमा ढुंगानाको १ लाख २६ हजार , विमला थापाको २ लाख ५० हजार , रमा बस्नेतको १ लाख ३५ हजार , राममाया तामाङको १ लाख ७० हजार , सबिना बस्नेतको २ लाख , विष्णु प्रसाईको ८ लाख र साढे ५ तोला सुन , मन्जु खड्काको सुन, सुकमाया राईको १ लाख , रन्जना मगरको १ लाख ७० हजार , मन्जु पौडेल घिमिरेको २ लाख ४० हजार , रनमायाको १ तोला सुन ,इन्दिरा तिम्सिनाको १ लाख ७० हजारलगायत रहेको छ । ठगिने सबै महिला हुन् । उनले मीना सिटौलासँग पनि २० लाख रुपैयाँ लिएकी थिइन् । तर, सो रकम जग्गा बेचेर उनले मिलाएको जनाइएको छ । जग्गा सुटुक्क बेचेर उनी पर्सीपल्ट राति फरार भएको स्थानीय जानुका थापा मगरले बताईन् ।

ठगिने महिलाहरु मंगलबार दिनभरि भौतारिरहे । इलाका प्रहरी कार्यालय जाँदा नगरपालिका देखाउने अनि नगरपालिका जाँदा प्रहरी चौकी बिर्ताबजार देखाएर आफूहरुलाई न्याय पाउनबाट बंचित गर्न खोजिएको देवी राईले गुनासो गरिन् । उनले सम्बन्धित वडाका वडाध्यक्ष पनि आफूहरुको समस्याप्रति उदासिन भएको आरोप लगाइन् ।

छलफलका लागि अधिकारीसहित इलाका प्रहरी कार्यालय पुगेका पीडितहरुलाई लेनदेनको विषय प्रहरीले हेर्न नमिल्ने भन्दै नगरपालिका पठाएको थियो । कुनै पनि निकायले समस्यालाई गंभीर रुपमा नलिइदिएपछि पीडितहरुले कानुनी कार्वाहीमा जाने तयारी गरेको जानुका थापा मगरले बताइन् । अधिकारी भने आफ्नो व्यवहार बिग्रेकाले विस्तारै तिर्दै जाने बताउँछिन् । “मलाई सबैले इमान्दारीताका साथ पैसा दिनुभएको हो म कमाएर तिर्छु” उनले भनिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्