बिर्तामोड, मंसिर १७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।

तनहुँ प्रहरी प्रशासनले बुधबार पुल उद्घाटन गर्न जाँदा पौडेललाई नियन्त्रणमा लिएको थियो ।
पूल उद्घाटनको पूर्व निर्धारित कार्यक्रम बिथोल्न खोजिएकोप्रति आपत्ति जनाउँदै सभापति थापाले वरिष्ठ नेता पौडेललाई तत्काल रिहाइ नगरे कडा प्रतिरोध गरिने चेतावनी दिएका छन् ।
निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रशासनले पौडेललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय तनहुँमा राखेको छ ।
व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट नेता पौडेललाई प्रहरीले पक्राउ गरेको हो । पौडेल व्यास १, १० र ११ जोड्ने बुल्दी पुल उद्घाटनका लागि गएका थिए । सत्ताधारी कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघ परिचालन गरेर पुल उद्घाटन रोक्न नियोजित रुपमा षडयन्त्र गरेकोप्रति घोर निन्दा गर्दै सभापति थापाले ओली सरकार सर्वसत्तावादी अधिनायकवातर्फ अग्रसर भएको टिप्पणी गरेका छन् ।
दमौलीबाट नेपाली कांग्रेसका कार्यकर्तासहित करिव २ किलोमिटर अगाडी पर्ने बुल्दी पुलमा निर्मित मोटरेवल पुलको उद्घाटन गर्न जाने क्रममा झडप हुन सक्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको बताएर वरिष्ठ नेता पौडेलसहित कांग्रेसका नेता कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको घटनाले लोकतन्त्रको धज्जी उडाएको सभापति थापाद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्