भद्रपुर , मंसिर १८ । झापाको भद्रपुर ६ स्थित बत्तावारी चोकदेखि महेशपुरको मन्त्री चोकसम्मको सयपत्री मार्गअन्तर्गत पर्ने अढाई किलोमिटर बाटो बिहीवार धुलो नियन्त्रण गर्न माग गर्दै स्थानीयहरुले अबरोध गर्दा आवतजावतमा कठिनाइ भएको छ ।

सघन सहरी तथा भवन विकास आयोजना चन्द्रगढीको मातहतमा रहेर श्रेष्ठ कन्स्ट्रक्सन प्रालिमार्फत २०७४ मंसिर ८ मा सम्झौता भई २०७७ मंसिरमा सम्पन्न गर्नेगरी निर्माण कार्य सुरु गरिएको सडक धुवाँ र धुलो नियन्त्रण गर्न माग गर्दै वांसको बार लगाएर स्थानीयहरुले सडक अबरोध गरेका हुन् ।
उनीहरुले शुरु गरेर छोडेको ३ बर्ष बितिसक्दा पनि निर्माण कार्य अघि नबढाईएको भन्दै सवारी आवतजावतका कारण सडकबाट निस्कने धुवाँ धुलोले आसपासका स्थानीयहरुलाई विभिन्न प्रकारका रोगहरुले सताउने गरेको बताएका छन् ।
तत्काल दिनको दुई पटक सडकमा पानी हालेर धुलो नियन्त्रण गर्दै सडक निर्माण कार्यलाई निरन्तरता दिनु पर्ने उनीहरुको माग छ । तीन बर्षअघि सडक निर्माणका क्रमममा नाली उठाएर छोडेको सडकमा अहिलेसम्म ठेकेदार देखा नै नपर्दा हिउँदमा धुलो धुवाँ र बर्षामा हिलोले सताउँदा आफूहरुमा श्वासप्रश्वास लगायतका विभिन्न रोगहरुले सताउने गरेको स्थानीय सृजना घिमिरेले बताइन् । उनले आफूहरुले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई पटकपटक निर्माण कार्यलाई निरन्तरता दिन र बिहान–बेलुका पानी हालेर धुलो नियन्त्रण गर्न पहल गरिदिन भने पनि बेवास्ता गरेको गुनासो गरिन् ।
सडकवाट उड्ने धुवाँ धुलोका कारण स्थानीयवासीमा दम ,रुघाखोकीलगायतका रोग निम्तिने गरेको अर्का स्थानीय उत्तमराज भट्टराईले बताए । श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले बनाउन शुरु गरेको भद्रपुर नगरपालिकाभित्रका १२ वटा सडकखण्ड एकमुष्ठ ८३ करोड ८० लाख ९० हजार २ सय ३१ रुपैयाँमा ठेक्का सम्झौता भएको हो । तर, अधिकांश सडकहरुमा निर्माणको क्रममा गुणस्तरहीन सामग्री प्रयोग गर्ने तथा निर्माण कार्य सुरु गरेर अलपत्र अवस्थामा छोड्ने गरेको स्थानीयहरुको भनाइ छ ।
यस बिषयमा फोन गरेर बुझ्न खोज्दा कन्स्ट्रक्सनका सवईन्जिनियर विवस कार्कीले फोन उठाएनन् ।यता सघन शहरी विकास आयोजना चन्द्रगढीका सूचना अधिकारी अर्जुन दाहालले भने कार्यालयले अनुगमन गरी तत्काल समस्याको समाधान गरिने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्