झापा , मंसिर २० । झापाको दमकमा अहिलेसम्म ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भयो । मृतकमध्ये अधिकांशको शव व्यवस्थापन परिवार आफैले गरे । भद्रपुरमा नगरपालिकाले शव व्यवस्थापनका लागि नेपाली सेना र शववाहन बोलाइसक्दा पनि परिवारले सेनालाई अन्त्येष्टि गर्न दिएनन् । पछिल्लो समय जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको शव परिवार आफैले अन्त्येष्टि गर्ने क्रम बढ्दो छ ।

दमकमा कोरोना संक्रमणबाट मृत्यु भएका ३२ जनामध्ये १० जना जतिको मात्र सेनाले अन्त्येष्टि गरेको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । उनले बाँकी मृतकको शव परिवार आफैले अन्त्येष्टि गरेको जानकारी दिए । होम आइसोलेसनमा मृत्यु भएका , मृत्यु भएपछि पिसिआर रिपोर्ट पोजिटिभ आएका, संक्रमितको उपचारका क्रममा परिवारसँगै रहिसकेको अबस्थामा त्यस्ता मृतकलाई परिवार आफैले अन्त्येष्टि गरेको भट्टराईले बताए । आफैले अन्त्येष्टि गर्ने क्रममा नगरपालिकाले पीपीइ , सेनिटाइजरजस्ता स्वास्थ्य सामग्री उपलब्ध गराउने गरेको उनको भनाइ छ ।

कोरोना संक्रमणबाट मृत्यु भइसकेपछि मृतकको शवको अन्त्येष्टि सावधानीपूर्वक गर्नु पर्छ भनेर स्वास्थ्यकर्मीहरुले भन्दा पनि मृतक परिवारले मान्न छोडेका छन् । भद्रपुर नगरपालिका वडा नं. ९ मा कोरोना संक्रमणबाट मृत्यु भएका एक ब्यक्तिको अन्त्येष्टिका लागि नगरपालिकाले सेना र शववाहन बोलाइसक्दा पनि अन्त्येष्टि गर्न दिएनन् । सेना र शववाहन फर्किनु पर्यो । जान्नेबुझ्ने परिवारकै मानिसहरुले त्यस्तो जवर्जस्ती गरिरहेको भद्रपुर नगरपालिकाका फोकल पर्सन मनोज भट्टराईले बताए । ‘ मृतकका छोरा सेनाका मेजर हुनुहुन्छ ’ उनले भने ,‘ तर पनि कोरोना संक्रमितको शव व्यवस्थापन सेनाद्वारा गर्न दिनु भएन, आफैले गर्नु भयो ।’ संक्रमितको शव व्यवस्थापनमा समस्या आइरहेको उनले बताए । स्थानीय तहका जनप्रतिनिधिले गएर भन्दा ‘बाँचुन्जेल सरकारले केही गरेन, मरेपछि किन चाहियो ?’ जस्ता ठाडो प्रश्न उनीहरुले तेस्र्याउने गरेको भट्टराईले सुनाए ।

सरकारले नै कोरोना संक्रमितको शव परिवार आफैले अन्त्येष्टि गर्न पाउने कार्यविधि बनाएपछि उनीहरुलाई अन्त्येष्टि गर्न दिइएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । उनले अस्पतालमा मृत्यु भएका मृतकको शवलाई अस्पतालले प्लाष्टिकले बेरेर दिने गरेको अबस्थामा त्यति जोखिम नहुने भएपनि घरमै मृत्यु भएका मृतकको अन्त्येष्टि गर्दा परिवारले सावधानी अपनाउनु पर्ने आवश्यकता औंल्याए ।

सरकारले गत असोज २५ गते कोरोनाका कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि संशोधन गर्दै घरमै आइसोलेसनमा संक्रमितको निधन भएमा आफन्तले शव व्यवस्थापन गर्न पाउने व्यवस्था गरेको हो । ‘कुनै व्यक्तिको घरकै आइसोलेसनमा मृत्यु भएमा आफन्तले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्छ । शवलाई आफन्तले पीपीई (पञ्जा, मास्क र पुरा बाहुला भएको गाउन) लगाई र्याप गर्ने र बडीब्यागमा राख्ने काम गर्नुपर्छ’, संशोधित कार्यविधिमा भनिएको छ, ‘आइसोलेसनमा राखेको स्थानबाट शव बोक्ने गाडीसम्म शव पनि आफन्तले नै लैजानु पर्छ। शव बाहन नभएको स्थानमा शव बोक्न प्रयोग हुने खट बोक्ने व्यक्तिले मृत शरीर नछुने गरी बनाउनु पर्छ र उनीहरुले सुरक्षा सामग्रीको प्रयोग गर्नु पर्छ ।’

योभन्दा अगाडि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गर्दै आएको थियो। यो कार्यविधि अस्पतालमा मृत्यु भएका व्यक्तिका लागि बनाइएको थियो। तर होम आइसोलेसनमै मृत्यु भएमा के गर्ने भन्ने कुरा भने कार्यविधिमा उल्लेख गरिएको थिएन।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्