राजगढ , मंसिर २१ । सशस्त्र द्वन्द्वका बेला माओवादीहरुले बाह्रदशी १ साधुपर्तिस्थित अधुवा खोलामा बनाएको काठे पुल पक्की बनिने भएको छ ।

त्यस पुलको प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशीले शिलान्यास गरे । ८ करोड ४८ लाख रुपैयाँको लागतमा त्यहाँ पक्की पुल निर्माण हुने भएको हो । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार निर्देशनालयको पूर्वाधार विकास कार्यालय भद्रपुर झापाले पुलका लागि बजेट उपलब्ध गराएको हो । सो पुल जीर्ण भइसकेको छ । आफू माओवादीमा लागेका बेला २०५९ सालमा काठ बोकेर सो पुल बनाएको प्रदेश सांसद राजवंशी संझन्छन् । उनले त्यस पुलको लागि आफूहरुले निकै दुख गरेको बताए ।

त्यस्तै हल्दिबारी १ का वडा सदस्य खकेन राजवंशीले आफूसहित आफ्नै कमाण्डमा रहेका माओवादी कार्यकर्तालाई लिएर जंगलबाट तस्कर गरी बाहिर लगिदै गरेका काठ समाई आफैले बोकेर र अपुग काठ घाटगद्धीबाट उठाएर सो पुल बनाएको बताए । सो पुलले राजगढ जनता हुँदै घेराबारी पथरिया जोड्ने गर्दछ । पूर्वाधार विकास कार्यालय भद्रपुरका डिभिजन इन्जिनियर रमेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश साँसद राजवंशी र गाउँपालिका अध्यक्ष खड्ग राजवंशीले बोलेका थिए । कार्यक्रमको संचालन इन्जिनियर देवेन्द्र पराजुलीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्