झापा ,मंसिर २३ । आज विहान हत्या गरिएका मोरङ मिक्लाजुङका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या विप्लब समूहले गरेको प्रहरीले जनाएको छ ।

मिक्लाजुङ गाउँपालिका १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय श्रेष्ठको हत्या विप्लबका कार्यकर्ताले गरेको मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार श्रेष्ठलाई ४–५ जनाको संख्यामा आएका विप्लबका कार्यकर्ताले विहान ६ बजेतिर घरबाट अपरहण गरी लगेका थिए । उनको शव घरबाट करिब एक किलोमिटरको दुरीमा रहेको जंगलमा टाउकोमा गोली हानी हत्या गरिएको अवस्थामा भेटिएको छ । श्रेष्ठलाई यसअघि पनि विप्लब समूहले धम्की दिँदै आएको बुझिएको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्या गर्नेहरूको खोजी गर्न मिक्लाजुङ १ रमितेखोला क्षेत्रलाई चारैतिरबाट सिल गरेर व्यापक प्रहरी परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र १ नं. प्रदेश प्रहरी कार्यालयको तर्फबाट सो क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ । शिक्षकको हत्या गर्नुको कारण खुलेको छैन ।व्यक्तिगत रिसिबीका कारण हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।प्रहरीले विप्लब समूहमाथि आरोप लगाएपनि र स्थानीयले आशंका गरेपनि सो समूहले स्वीकार गरिसकेको छैन । प्रहरीले घटनाको थप अनुसन्धानसँगै हत्याराको खोजीलाई तीब्र बनाएको जनाएको छ । मोरङको पूर्वोत्तर क्षेत्रमा पर्ने मिक्लाजुङ गाउँपालिकाको पहाडी क्षेत्र बर्खे पुग्न गाउँपालिका कार्यालय रहेको मधुमल्लाबाट पनि २ घन्टा लाग्ने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्