राजगढ , मंसिर २३ । झापाको बाह्रदशी गाउँपालिका–१ मा गत वर्ष ३२ विगाहमा लगाइएको स्ट्रबेरी खेती यस वर्ष दुई विगाहमा झरेको छ ।

गत वर्षको स्ट्रबेरी खेती

गोल्यन ग्रुपको गोल्यन एग्रो प्रालिले गत वर्ष व्यावसायिक रुपमा स्ट्रबेरी खेती गरेको थियो । कोरोना महामारीका कारण यस वर्ष स्ट्रबेरी खेती चौपट बनेको हो । करिव दुई विगाह क्षेत्रफलमा मात्र यस वर्ष स्ट्रबेरी लगाएको कम्पनीले जनाएको छ । दुई साताअघि करिव दुई विगाहमा ३० हजार बिरुवा रोपेको प्राविधिक इन्द्र विकले बताए ।गत वर्ष ३८.५ एकड अर्थात करिब ३२ विगाहमा करिव ६ लाख बिरुवा रोपिएको थियो । गत वर्ष व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरी खेतीलाई एसियाकै सबैभन्दा ठूलो भएको दावी गरिएको थियो ।

कम्पनीले भारतबाट रोप्नका लागि ल्याएको स्ट्रबेरीका बिरुवा अधिकांश सुकेर नष्ट भएका छन् । भारतबाट ल्याइएका करिव ७० प्रतिशत बिरुवा मरेको त्यहाँ कार्यरत कर्मचारी राजेन्द्र भट्टले बताए । उनले पहिलो लटमा ल्याइएका ३० हजार बिरुवामध्ये एउटै पनि नबाँचेको जानकारी दिए । स्ट्रबेरीका लागि चिसो हावापानी उपयुक्त मानिन्छ । तर, गत वर्ष गोल्यन एग्रो प्रालिले जाडो यामको मौका छोपी पहिलो पटक झापामा स्ट्रबेरी लगाएर राम्रो आम्दानी लिन सफल भएको थियो । निकै चर्चा पाएको त्यस स्ट्रबेरी खेती हेर्न टाढा टाढाका मानिसहरु आएका थिए । उत्पादनसँगै स्ट्रबेरीले बजार पनि राम्रो पाएको थियो । कोरोना महामारी र लकडाउनका कारण यस वर्ष स्ट्रबेरी खेती चौपट बनेको कर्मचारी भट्टले बताए । स्ट्रबेरी खेती नभएपछि स्थानीयको रोजगारीसमेत गुमेको उनको भनाइ छ ।गत वर्ष ६५ जना स्थानीयले दैनिक रोजगारी पाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्