बिर्तामोड, मंसिर २३ । कोरोना कहरले सहकारीमा तत्कालीन रूपमा खासै असर नपारे पनि दीर्घकालीन रूपमा भने असर पारेको देखिन्छ । कोरोना भाइरसको संक्रमणका कारण सदस्यहरुको व्यापार राम्ररी सञ्चालन हुन सकिरहेको छैन । ऋणको माग नहुने र ऋणको भाका नाघ्न सक्ने हुँदा कर्जाको नियमिततालाई अगाडि बढाउनु पर्ने चुनौती सहकारीलाई रहेको छ ।
यस्तै चुनौतीका बीच सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई व्याजमा सहुलियत प्रदान गरेको छ । सहकारीले सदस्यलाई व्यवसाय गर्न पूँजीको अभाव नहोस् भन्ने हेतुले ऋणको व्याजमा ११ देखि १३ प्रतिशत कायम गरिएको सहकारीका कार्यकारी प्रमुख महेन्द्र गिरीले बताए ।

कोरोना पोजेटिभ भएर आइसोलेसनमा बस्नुपर्ने अवस्था आए संस्थाले प्रतिदिन ५ सय रुपैयाँका दरले १४ दिनका लागि कोरोना भत्तासमेत उपलब्ध गराउने जनाएको छ । “हामीले कोरोनाको कारण सिकिस्त भइ आईसियु, प्लाज्मा थेरापीलगायत उपचारको लागि स्वास्थ्य योजनाअन्तरगत ३ लाख रुपैयाँसम्म सहयोग गर्ने योजना बनाएका छौँ” प्रमुख गिरीले भने । सहकारीले कोरोनाको कारण ऋणको किस्ता तिर्न नसकेका सदस्यहरुलाई कुनै पनि प्रकारको हर्जना नलिने जनाएको छ ।
सहकारीको २४ औँ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा सहकारीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख गिरीले गत असार मसान्तसम्म ऋण पाकेको व्याजमा १० प्रतिशत छुट दिएको बताएका छन् । यसै अवधिमा विपत सापटीवापत प्रतिसदस्य ५ हजारसम्म दिने नीति अनुरुप २ करोड ६८ लाख २३ हजार रुपैयाँ प्रदान गरेको छ ।

कोरोना महामारीको अवस्थामा संस्थाले प्रधानमन्त्री राहत कोष, प्रदेश सरकार र स्थानीय ७० वटा पालिकालाई तत्काल खाद्यान्न सहयोग पु¥याउन ५७ लाख ३५ हजार २ सय ५८ रुपैयाँ उपलब्ध गराएको जनाएको छ । पिसिआर ल्याव स्थापना, खाद्यान्न वितरण, प्लाजमा बैंक स्थापनामा एकका लागि एक अभियानमार्फत् सहयोग गरेको जनाएको छ । संस्थाले आगामी वर्ष ०७७–०६८को लागि वित्तीय तथा गैरवित्तीय १६ वटा शीर्षकमा ६८ वटा कार्यक्रम प्रस्ताव गरेको छ ।
नयाँ ऐनले पार्न सक्ने नीतिगत तथा कानुनी कठिनाई सामना गरी स्थानीय तहसँग समन्वय गरी अघि बढ्नु पर्ने चुनौती रहेको गिरी बताउँछन् । सहाराले सदस्यले प्राप्त गरिरहेका सेवासुविधा, स्वास्थ्य योजना, सामाजिक सुरक्षा कार्यक्रम र जनउत्तरदायी सामुदायिक कार्यक्रम बढाउँदै लाने योजना बनाएको छ । सहकारीले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत पूर्ण अशक्तता, एकल महिला–पुरुष, जेष्ठ सदस्य तथा अनाथ बालबालिकाको संरक्षणमा संस्थाले प्रदान गर्दै आएको जनाएको छ ।
सहाराले यस वर्ष कोशेली घर सञ्चालनमा ल्याउने जनाएको छ । सदस्यले उत्पादन गरेका वस्तुको बजारीकरणको लागि कोशेली घर सञ्चालन गर्ने योजना बनाएको हो । शेयर सदस्यलाई व्यावसायिक तरकारी खेती गर्न टनेल, थोपा सिँचाई, सोलार पम्प, यान्त्रिकीकरणलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

सहकारीले सतासी महिला कृषि सहकारीको साझेदारीमा सञ्चालन गर्दै आएको मह उद्योगलाई अझ प्रभावकारी रुपमा अघि बढाउने जनाएको छ । सहकारीले शिवसतासीमा रहेको जग्गामा बाख्रा मौरी र तरकारीको स्रोत केन्द्र निर्माण गर्ने साथै अन्य कृषि आयआर्जनका कार्यक्रम गर्ने जनाएको छ ।
सहाराको वित्तीय अवस्था १० अर्ब बढी भएको जनाएको छ । १ लाख ४३ हजार ९ सय ८३ जना शेयर सदस्य रहेको सहाराले ६ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । सहकारीले यो संस्था देशकै उत्कृष्ट संस्था रहेको दाबी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्