इलाम , मंसिर २३ । प्रदेश नम्वर–१ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्वो (मौसम) ले डढेर खरानी भइसकेको राजसँस्थाले आर्यघाटबाट फर्केर शासन गर्न खोज्नु सम्भव नभएको बताएका छन् ।

राजसँस्था नेपालमा कुनै पनि हालतमा नफर्किने उनले ठोकुवा गरे । इलामको माई नगरपालिका ४ स्थित धरमपुर–सिजालीटारबीचको गरुवा खोलामा निर्माण हुने पुलको शिलान्यास गर्दै मन्त्री आङ्वोले त्यस्तो ठोकुवा गरेका हुन् । विगतमा जनआन्दोलनका क्रममा गणतन्त्रवादीहरुलाई गोली हान्ने राजावादीहरुले आन्दोलन चर्काउँदा समेत अहिलेको सरकारले उल्टै संरक्षण गर्नुले यो लोकतान्त्रिक व्यवस्था नै सबैभन्दा उत्तम भएको धारणा ब्यक्त गरे । गणतन्त्रवादीहरुप्रति इंगित गर्दै मन्त्री आङ्वोले आफूले ल्याएको शासन व्यवस्था आफैले संरक्षण गर्न नसक्नु कमजोरी भएको टिप्पणी गरे । कतिपयले सत्तारुढ नेकपा फुट्यो भनेर सडकमा बुर्कुसी मारेपनि पार्टी नफुट्ने उनले दावी गरे । समाजवादमा जाने मुख्य आधार शिक्षा र स्वास्थ्य भएको बताउने मन्त्री आङ्वाले वर्तमान सरकारले त्यसलाई प्रमुख प्राथमिकतामा राखेको बताए । ‘ संविधान र चुनावी घोषणा पत्रमा उल्लेख भएका कुराहरुलाई पूरा गरेरै छाड्छौं’ उनले भने, ‘ पूर्वाधार विकासका कार्यक्रमअन्तर्गत नागरिकलाई आधारभूत स्वास्थ्य उपचार सेवा दिन ९८ करोड बजेट स्वीकृत गरेका छौं ।’ माई नगरपालिकाका नगर प्रमुख दीपककुमार थेवेको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा प्रदेश सांसद काजीमान कागते , सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईलगायतले शुभकामना मन्तव्य राखेका थिए । माईका उप प्रमुख विष्णुमाया आचार्यले स्वागत गरेको कार्यक्रममा प्रदेश सांसद धिरेन्द्र शर्मा रमनको पनि उपस्थिति रहेको थियो । प्रदेश सरकारको २ करोड १८ लाखको बजेटमा सो पुल बन्न लागेको माई नगरपालिकाका लेखा प्रमुख क्षेत्रनाथ शर्माले बताए । २०७७ असार २३ गते ठेक्का पाएको सतासी आरके झापाली जेभीले दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने संझौता रहेको छ । सो पुल बनेपछि माई नगरपालिका वडा नं ४ , ५ , १० तथा सूर्योदय नगरपालिकाका वडा नं १३ र १४ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्