झापा, मंसिर २४ । नेपाली कांग्रेसले यही मंसिर २९ गते हुने विरोध प्रदर्शनको तयारी तीब्र पारेको छ ।

कोभिड–१९ नियन्त्रण, परीक्षण र उपचारमा सरकारले देखाएको उदासिनता, अकर्मण्यता एवम् स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता, भ्रष्टाचारको विरोध, गत मंसिर १७ गते तनहँु जिल्लामा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि सरकारकै निर्देशनमा भएको अभद्र ब्यवहार र दमनको विरोध, अविलम्ब संसद बैठक बोलाउनु पर्नेलगायतका माग गर्दै देशब्यापी प्रदर्शनका क्रममा झापामा पनि त्यसका लागि आवश्यक तयारी तीव्र पारिएको कांग्रेस झापाका सभापति उद्वव थापाले बताए ।

केन्द्रीय निर्देशनअनुरुप देशभरका ७७ वटै जिल्लामा गरिने प्रदर्शनको तयारी झापामा पनि तीब्र पारिएको उनले जनाएका छन् ।
प्रदर्शनको तयारीस्वरुप आज झापाका भातृ तथा शुभेच्छुक संघसंस्थाहरुको जिल्लास्तरीय भेला बिर्तामोडमा गरिएको कांग्रेस झापा मातहतको भातृसंस्था समन्वय समितिका संयोजक देउमान थेवेले जानकारी दिए ।
उनका अनुसार भेलाले आ–आफ्नो पहिचान झल्कने झण्डा र ब्यानरसहित प्रदर्शनमा सहभागिता जनाउने निर्णय गरेको छ ।

भेलामा नेपाल महिला संघ झापाकी सभापति सुशिला ढकाल, नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय सभापति दीपक तामाङ, नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल तरुण दल झापाका सभापति गोपाल तामाङ, नेपाल किसान संघ झापाका अध्यक्ष राजेन्द्र भट्टराई, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, आदिबासी–जनजाति संघ झापाका अध्यक्ष चन्दन मेचेको उपस्थिति थियो ।

त्यस्तै, दलित संघका केन्द्रीय सदस्य सुन्दरा ल्वागुन, झापा अध्यक्ष दलबहादुर विश्वकर्मा, नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य सर्फरा शेख, झापा अध्यक्ष अमिन अलि शेख, नेपाल शिक्षक संघका अध्यक्ष नेत्र खरेल, नेपाल सांस्कृतिक संघका उपाध्यक्ष सञ्जीव चापागाई, नेपाल भूतपूर्व सैनिक संघका सचिव भगिमान गुरुङ, नेपाल विद्यार्थी संघका सचिव नारायण नेपालको थियो ।
यसैगरी, भेलामा नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ झापाका अध्यक्ष सम्फी दास, नेपाल माछा ब्यापार श्रमिक संघ झापाका अध्यक्ष सोनालाल शाह, नेपाल रिक्सा चालक संघका हसिबु शेखलगायत विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय सदस्य, पदाधिकारी र जिल्ला सदस्यहरुको सहभागिता समेत रहेको थियो ।
१५ वटै स्थानीय तहमा भेला सम्पन्न

प्रदर्शनको तयारीस्वरुप कांग्रेसले झापाको १५ वटै स्थानीय तहमा कार्यकर्ता भेला सम्पन्न गरिसकेको छ । विरोध कार्यक्रमलाई वृहत वनाउन गाउँगाउँमा कांग्रेसले भेला गरी जिल्लाका १५ वटै स्थानीय तहका १३१ वटै वडामा वडा भेला सम्पन्न गरिएको जनाएको छ । कांग्रेस झापाको गत २१ गते सम्पन्न बैठकले वडातहमा खटाएका जिल्ला प्रतिनिधिको सहभागितामा वडा कार्यसमितिको बैठक तथा भेला सम्पन्न भएको थियो ।

कनकाई नगरपालिकाको सुरुङ्गाबाट शुरु भई सदरमुकाम केन्द्रीत हुने प्रदर्शनको पूर्व तयारीका लागि बसेको बैठकले सम्पूर्ण क्रियाशील सदस्य तथा आम लोकतन्त्रप्रेमी महानुभावमा सहभागिताका लागि अपिल पनि गरेको छ ।
प्रदर्शनको तयारीका लागि गाउँ, नगर, प्रदेश र क्षेत्रीय समितिको संयुक्त बैठक मंसिर २५ गते हुने कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए । उनका अनुसार मंसिर २७ गते क्षेत्रीय समितिको बैठक सम्पन्न हुनेछ ।
सदरमुकाम केन्द्रीत हुने विरोध प्रदर्शनमा १५ हजार भन्दाबढीको सहभागिता गराउने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्