झापा , मंसिर २६ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मंसिर २४ गते एकैदिन दर्जनौं सदस्य र तिनका परिवारलाई स्वास्थ्य उपचार खर्च प्रदान गरेको छ । संस्थाले सोही दिन मृतक सदस्यको कर्जा मिनाहा गरेर अभिभावकत्व दर्शाएको छ ।

संस्थाका विभागीय प्रमुख, विभिन्न सेवा केन्द्र प्रमुख तथा कर्मचारीहरुले सदस्यको घरदैलोमा पुगेर स्वास्थ्य उपचार राहत खर्च प्रदान गरेका हुन् ।
संस्थाको सुरुङ्गा सेवा केन्द्रका प्रमुख इन्दिरा भट्टराईका अनुसार सो सेवा केन्द्र अन्तरगतका सदस्य नरबहादुर गिरीको निधन भएकाले उनको नाममा बक्यौता रहेको एक लाख ९१ हजार १९३ रुपैयाँ कर्जा मिनाहा गरिएको छ । स्वर्गीय गिरीको परिवारजनलाई भेटेर समवेदना अर्पण गर्दै कर्जा मिनाहाको पत्र प्रदान गरिएको हो । सो परिवारलाई काजकिरिया खर्चवापत १० हजार रुपैयाँसमेत प्रदान गरिएको सेवा केन्द्र प्रमुख भट्टराईले बताएकी छन् ।
यसैगरी बिर्तामोड सेवा केन्द्र अन्तरगतका सदस्य सुष्मा आचार्यले लिएको कर्जा ८६ हजार ५७३ रुपैयाँ बाँकी रहँदै गत कात्तिक २१ गते उनको निधन भएकाले सो रकम मिनाहा गरिएको पत्र पनि परिवारजनलाई हस्तान्तरण गरिएको छ । सेवा केन्द्र प्रमुख निर्मलकुमार चौहानका अनुसार कर्जा मिनाहाको पत्र स्वर्गीय सुष्माका छोरा आशिषलाई मंसिर २४ गते प्रदान गरिएको हो ।
सुरुङ्गा सेवा केन्द्र अन्तरगतकै सदस्य नेत्रबहादुर विश्वकर्माको हड्डीको शल्यक्रिया गर्दा लागेको उपचार खर्चको आधा रकम २५ हजार रुपैयाँ पनि प्रदान गरिएको छ । सेवा केन्द्र प्रमुख भट्टराईका अनुसार अर्का सदस्य कमला प्रसाईंका बुहारीको शल्यक्रिया गरी उपचार गर्दा लागेको खर्चवापत परिवार राहत अन्तरगत आठ हजार २४० रुपैयाँ प्रदान गरिएको छ ।
सिम्रिकले जीवनका हरेक चरणमा सदस्यको साथ रहने प्रण गरेबमोजिम सुत्केरी पोषण सुविधा वापत सदस्य अस्मिता चेम्जोङलाई एक हजार ८ सय र अर्जुन उप्रेतीको श्रीमतीलाई एक हजार ५ सय रुपैयाँ प्रदान गरेको सेवा केन्द्र प्रमुख भट्टराईले जानकारी दिएकी छन् ।

विभागीय प्रमुख प्रेम बस्नेतका अनुसार कनकाई नगरपालिका ८ का इक्सा सुब्बालाई पनि सुत्केरी उपचार खर्चवापत १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
संस्थाका विभागीय प्रमुख मिनबहादुर अधिकारीका अनुसार भद्रपुर १० का धनबहादुर लिम्बूको मिर्गौलामा पथरिया जमेकोले शल्यक्रिया गरी उपचार गर्दा लागेको खर्च राहत वापत २३ हजार ६५० रुपैयाँ प्रदान गरिएको छ । मंसिर २४ गते लिम्बूको घरदैलोमा नै पुगेर उक्त सदस्य उपचार सुविधा प्रदान गरिएको हो ।
यसैगरी, मेचीनगर ६ धुलाबारीका सदस्य डोल्मा तामाङका श्रीमान् गणेशबहादुर तामाङको असामयिक निधनमा शोक व्यक्त गर्दै काजकिरिया खर्चवापत १८ हजार २ सय रुपैयाँ प्रदान गरिएको छ । संस्थाका विभागीय प्रमुख बस्नेतलगायत संस्थाका प्रतिनिधिहरु मंसिर २४ गते सिदा खर्च लिएर तामाङको घरमा गएका थिए ।