बिर्तामोड , मंसिर २६ । जसले मृत्यु संस्कारका लागि तीन सिनान घरलाई करोडौंको जग्गा दान दिए उसैले संस्कार गर्न पाएनन् ।

अलपत्र सिनान घर

बिर्तामोड ३ का जितेन्द्र राजवंशीको परिवारले तीन सिनान घर बनाउन ३ लाख रुपैयाँ धुर पर्ने ४ कठ्ठा जग्गा राजवंशी समाज विकास समिति झापालाई पाँच वर्षअघि दान दिएका थिए । तर , राजवंशीको परिवारमा अहिले मरिमराउ पर्दा उनीहरुले नै तीन सिनान घरमा मृत्यु संस्कार गर्न पाएनन् । राजवंशी जातिमा मृत्यु भएको तीन दिनमा खोलामा नुहाइधुवाइ गरी चोखिने परम्परा छ । सबै जलासयहरु दुर्गन्धित र मासिदै गएपछि राजवंशी जातिको मृत्यु संस्कार संकटमा परेको छ । त्यही समस्यालाई मध्यनजर गरी राजवंशी परिवारले करोडौं मूल्यको जग्गा राजवंशीहरुको जातीय संस्था राजवंशी समाज विकास समितिलाई दान दिएका थिए । जग्गा आफ्नो नाममा पारिसकेपछि राजवंशी समाज विकास समितिले सिनान घरको निर्माण त थाल्यो तर, चार वर्षसम्म पनि पूरा गर्न सकेन । अलपत्र अबस्थामा परेको त्यस सिनान घरको बारेमा अहिले विवाद चर्किएको छ । बिर्तामोड नगरपालिकाले दिएको र राजवंशी जातिबाट संकलन गरिएको रकम हिनामिनाको कुरा उठेपछि राजवंशी समाज विकास समितिभित्र विवाद चर्किएको हो । त्यही विवादलाई लिएर केही दिनअघि समितिका पदाधिकारीहरु सामाजिक संजालमा सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिए ।

जग्गादाता राजवंशी परिवारका साहिला छोरा भीम राजवंशीको मंसिर १६ गते निधन भयो । उनको तीन दिनको कर्म तीन सिनान परिवारले घर नजिकको सिनान घरमा गर्न पाएनन् । चोखिन आउनेहरुलाई बिरीङ खोला लानु पर्यो । आज १३ दिनको दिन पनि परिवारका सदस्यहरु चोखिन बिरीङ नै जानु परेको जग्गादाता जितेन्द्र राजवंशीले गुनासो गरे । उनले आफ्नो परिवारलगायत सिंगो समुदायका लागि भनेर दिएको जग्गामा यसरी सिनान घर अलपत्र पारेर छाड्दा दुख लागेको बताए । यदि आफ्नो परिवारले दिएको जग्गा सही सदुपयोग गर्न नसके आफूहरु फिर्ता लिन बाध्य हुने उनले चेतावनी दिए । जग्गा लिनुभन्दा अगाडि विभिन्न आश्वासन दिनेहरु अहिले सिनान घरलाई अलपत्र पारेर आउनै छोडेको जग्गादाता परिवारका अर्का सदस्य दुर्गालाल राजवंशीले बताए ।‘ राजवंशी समाज विकास समितिको कार्यालय , सभाहल, सिनान घरलगायतका बहाना देखाएर जग्गा लिए’ उनले भने , अहिले सिनान घर पनि पुरा गर्न सकेनन् हामीले बिरीङ खोला जानु पर्यो ।’

त्यस सिनान घर निर्माण गर्नका लागि राजवंशी समाज विकास समितिका तत्कालीन जिल्ला अध्यक्ष पुकारचन्द्र सिंह राजवंशीको अध्यक्षतामा निर्माण समिति बनेको थियो । समितिलाई बिर्तामोड नगरपालिकाले १५ लाख बजेट दिएको थियो । त्यस्तै ५ लाखभन्दा बढी जनश्रमदान उठेको थियो । सिनान घर निर्माणमा हिनामिना भएको व्यापक जनगुनासो आएपनि अहिलेसम्म निर्माण समितिले हरहिसाव सार्वजनिक गरेको छैन । निर्माण समितिका अध्यक्ष रहेका राजवंशी समाज विकास समितिका अध्यक्ष पुकारलाई केन्द्रीय समितिले पदमुक्त गरेको छ । यो अबस्थामा दिनेश्वर राजवंशी कार्यवाहक अध्यक्ष रहेको जिल्ला समितिले हरहिसाव खोजी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्