बिर्तामोड, मंसिर २७ । झापाको बिर्तामोड–४ स्थित जनशक्ति वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७६–०७७ मा ४ लाख २५ हजार १५३ रुपैयाँ मुनाफा गरेको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण पाँच महिना अर्थतन्त्र ठप्पप्रायः भएको अवस्थाका बीच संस्थाले नाफा कमाउन सफल भएको हो ।
शनिबार संक्षिप्त उपस्थितिमा सम्पन्न छैठौ साधारणसभाको उद्घाटन समारोहमा संस्थाका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोरोना कहरका बीच पनि संस्थाले सन्तोषजनक कारोबार गरेको उल्लेख गरे । कोभिड १९ को जोखिम कायमै रहेकोले न्यून उपस्थितिमा साधारणसभा सम्पन्न गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले कोरोनाको त्रासका बीच पनि सहकारीहरुले सदस्यका वित्तीय तथा सामाजिक आवश्यकताहरु पूरा गरेको भन्दै यसले सहकारीको महत्व अझ बढाएको बताए । उनले अब सहकारीलाई उत्पादनसँग जोडेर व्यावसायिकतातिर लैजानुपर्नेमा जोड दिए ।
संस्थाका सचिव मणिराज दंगालले सञ्चालन गरेको कार्यक्रममा प्रस्तुत प्रगति प्रतिवेदन अनुसार आ. व. ०७६–०७७ को अन्त्यसम्ममा संस्थाले १ करोड ५१ लाख शेयर पूँजी पुर्याएको, ५ करोड ४ लाख ४६ हजार ८३२ रुपैयाँ वचत संकलन र ५ करोड ५३ लाख ५५ हजार ४४८ रुपैयाँ ऋण लगानी गरेको छ । त्यो वर्ष संस्थाले १ करोड १४ लाख ७ हजार ३०० रुपैयाँ आम्दानी गरेको छ भने १ करोड ९ लाख ८२ हजार १४६ रुपैयाँ खर्च भएको छ
साधारणसभाको अवसरमा संस्थाले एक–एक जना उत्कृष्ट वचतकर्ता, ऋणी र कर्मचारीलाई नगदसहित सम्मान गरेको थियो । उत्कृष्ट वचतकर्तातर्फ लेखनाथ गुरागाईं, उत्कृष्ट ऋणी रुपा तामाङ र उत्कृष्ट कर्मचारी तारादेवी अधिकारीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, कर्णाली वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टसबहादुर प्रधानलगायतले शुभकामना व्यक्त गरेका थिए । स्वागत सञ्चालक सदस्य विष्णुप्रसाद योङहाङले गरेका थिए ।
९९३ महिला र ७४ पुरुष गरी १७५७ सदस्य रहेको संस्थाले यसै वर्ष जिल्लाका दुई स्थानमा सेवाकेन्द्र थप्ने योजना बनाएको संस्थाका उपाध्यक्ष ढुण्डिराज गुरागाईंले जानकारी दिए ।