मनिषा चम्लागाईँ,
बिर्तामोड, मंसिर २७ । दुई वर्षअघि झापा बिर्तामोडको मुक्ति चोकनजिकै रहेको वान स्टप मलमा नयाँ ‘क्युएफएक्स’ हल खुलेको थियो । हल सञ्चालक मिजास पोखरेलले बिर्तामोडको केन्द्रमा नै खुलेको हल राम्रैसँग सञ्चालन हुने आशा राखेका थिए । पहिलो वर्ष उत्साहजनक व्यापार पनि भयो । हलमा गरेको लगानी विस्तारै उठ्नेमा पोखरेल बिश्वस्त थिए ।

तर, परिस्थिति फरक भयो । सञ्चालनमा आएको १ वर्षमा नै कोरोना महामारीले गर्दा हल बन्द गर्नुप¥यो । कोरोना कहर शुरु भएको १ वर्ष नाघिसक्यो तर, क्युएफएक्स’ हलको ढोकामा लागेको ताल्चा खुलेको छैन । जसकारण आफूले लाखौँ रुपैयाँ घाटा ब्यहोर्नु परेको पोखरेल बताउँछन् । पोखरेल बिर्तामोडका पुराना सिनेमा हल सञ्चालक हुन् । बुवा राजकुमार पोखरेलले बिर्तामोडमा कृष्ण चित्र मन्दिर हल सञ्चालनमा ल्याएसँगै प्रविधिको विकाससँगै छोरा मिजासले क्युएफएक्स हल सञ्चालनमा ल्याएका हुन् ।

२ वटा हलबाट मासिक प्रतिहल १ लाख ५० हजार रुपैयाँ घाटा ब्यहोर्नुपरेको पोखरेल बताउँछन् । सञ्चालनमा आएको केही महिनामै क्युएफएक्स’ हलले ‘पिकअप’ लिन सुरु गरिसकेको थियो । “अकुपेन्सी राम्रै थियो, कुनै फिल्म राम्रोसँग चल्थे त कुनै कम चल्थ्यो” पोखरेलले भने, “औसत ३० प्रतिशत अकुपेन्सी हुन्थ्यो हल चलिरहेको थियो । तर, महामारीपछि अवस्था चिन्ताजनक छ ।”
२ पर्दाको हल खोलेका पोखरेलले करोडौँको लगानी गरेका थिए । अहिले हल नचलेपछि आम्दानी शून्य छ । बैंकको ब्याज तिर्नुपर्दा उल्टै घाटा ब्यहोर्नु परेको पोखरेलको भनाइ छ ।
पोखरेलले सञ्चालनमा ल्याएका हल बन्द हुँदा हलमा कार्यरत १ सय ५० जना कर्मचारी बेरोजगार भए । लकडाउन अवधि लम्बिएसँगै कर्मचारीलाई बेतलबी बिदा दिइएको पोखरेलले बताए । कोरोनाको प्रत्यक्ष प्रभाव पारेको यस क्षेत्रलाई सरकारले कुनै पनि सहुलियत प्रदान नगरेको पोखरेल बताउँछन् । कोरोना महामारीसँगै सबै क्षेत्र सञ्चालनमा आएपनि सरकारले सिनेमा हल खोल्न आनाकानी गर्दै आएको पोखरेलको गुनासो छ ।

“हलमा सिट दुरी कायम गरेरै बनाइएका हुन्छन्, त्यसमा पनि हामी सामाजिक दुरी कायम गरेरै हल सञ्चालनमा ल्याउने थियौँ, तर सरकारले घण्टौँ यात्रा गर्ने बस सञ्चालनमा ल्याएपनि २ घण्टादेखि ३ घण्टासम्म सञ्चालनमा आउने सिनेमा हल सञ्चालन गर्न के ले रोक्यो ?” पोखरेलले प्रश्न गरे । पोखरेल हल सञ्चालकसँगै फिल्म निर्मातासमेत मारमा परेको बताउँछन् सरकारले हल सञ्चालकसँगै निर्मातालाई पनि राहत उपलब्ध गराउनुपर्ने उनको भनाई छ । “निर्माताहरुले पनि फिल्ममा लगानी गरेका हुन्छन्” उनी भन्छन्, “कोरोना कहरकै बेला फिल्म प्रदर्शनीमा ल्याउँदा लगानी नउठ्न सक्छ त्यसैले सरकारले मनोरञ्जन क्षेत्रको उत्थानतर्फ चासो देखाउनुपर्छ ।”

एभरेष्ट सिनेमा हल राजगढका सञ्चालक चाँद महमद यातायात, होटल, रेष्टुरेन्ट, बैंक, उद्योग सबै खुलेपनि हल नखुल्नु दुःखद् पक्ष भएको बताउँछन् । “स्वास्थ्य सुरक्षा अपनाएर हामी हल खोल्न तयार छौं” उनले भने, “४ करोडबढी लगानी गरेर खोलेको हल बन्द गर्नुपर्ने अवस्था छ आम्दानी शुन्य छ कर्मचारी पाल्नुपर्ने अवस्था छ ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्