बिर्तामोड, मंसिर २७ । झापाको बिर्तामोडमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड ४ का भुजेल थरका ८१ वर्षिय बृद्ध रहेका छन् । उनको शनिबार विहान ४ बजे कोशीको कोभिड हस्पिटल विराटनगरमा मृत्यु भएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । ती बृद्धलाई ८ दिनअघि संक्रमण पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या बिर्तामोडमा १३ पुगेको छ । त्यस्तै मेचीनगर १० का ७८ वर्षिय बृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरबाट बिर्तामोडको बिएण्डसी हस्पिटलतर्फ ल्याउँदै गर्दा बुधबार बाटैमा ती बृद्धको मृत्यु भएको थियो । उनलाई त्यसको अघिल्लो दिन संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १२२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टाभित्र झापामा २० जना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार शनिबार जिल्लाका १० वटा पालिकामा १० महिला र १० जना पुरुषसहित २० जनालाई कोरोना संक्रमण भएको हो । कार्यालयका अनुसार दमक नगरपालिकामा २ महिलासहित ३ जना, मेचीनगर नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा १ महिलासहित २ जना, कनकाई नगरपालिकामा १ महिलासहित ३ जना संक्रमित रहेका छन् ।यसैगरी, गौरादह नगरपालिकामा १ महिलासहित ४ जना पुरुष, भद्रपुर नगरपालिकामा १ जना महिला, कचनकवल गाउँपालिकामा १ महिलासहित २ जना, बाह्रदशी गाउँपालिकामा १ जना महिला, बुद्वशान्ति गाउँपालकामा १ महिलासहित २ जना र हल्दीबारी गाउँपालिकामा १ जना महिला संक्रमित रहेका छन् । संक्रमित सबै जना स्थानीय हुन् । झापामा हालसम्म ३४ हजार ४७७ स्वाब संकलन गरिएकामध्ये ४ हजार ३०० जना संक्रमित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्