झापा, मंसिर २७ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेडले स्थापना गरेको सहारा सहकारी पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघ झापाका सहसचिव एवम् नेपाल टेलिभिजनका झापा संवाददाता इन्द्रजित मुखियालाई प्रदान गरिएको छ ।

सहकारीको २४ औं वार्षिक साधारणसभाका अवसरमा मुखियालाई २५ हजार नगद राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।
१ नम्वर प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री रामकुमार रानाको प्रमुख आथित्यमा आयोजित कार्यक्रमकाबीच उक्त पुरस्कार मुखियालाई प्रदान गरिएको हो ।
अढाई दशकअघिबाट टेलिभिजन पत्रकारिता सुरु गरेका पत्रकार मुखियाले पाएको पुरस्कारको रकममध्ये ५ हजार ५ सय ५५ रुपैयाँ डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारका लागि प्रदान गर्ने घोषणा गरे ।

सहारा सहकारी पत्रकारिता पुरस्कार प्राप्त गर्ने मुखियाले यसअघि नेपाल टेलिभिजनले साहसिक पत्रकारिता र उत्कृष्ट जिल्ला संवाददाताको रुपमा पुरस्कार पाइसकेका छन् ।

पत्रकारितामा इमान्दारीता र लगनशिलता नै सफलताको आधार हो भन्ने ठानेका मुखियाले आफ्नो संस्था बाहिर पहिलोपटक पुरस्कृत हुन पाउँदा गौरव लागेको बताए । उनले यो पुरस्कारले आफूलाई थप जिम्वेवार र लगनशील भएर अघि बढ्न प्रेरणा मिलेको प्रतिक्रिया दिए ।
सहकारीका कार्यवाहक अध्यक्ष हरिबहादुर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास राज्य मन्त्री जशमाया गजमेर, नेफ्स्कुनका सदस्य घनश्याम अधिकारी, बिर्तामोड नगरपालिका २ का वडा अध्यक्ष नगेन्द्र संगौलालगायतले बोलेका थिए ।
सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले सहकारीको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सहकारीका उपाध्यक्ष उप्रेन्द्रप्रसाद ओलीले स्वागत गरेको कार्यक्रम चित्रकला ओली र शुक्रवहादुर तामाङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्