गौरादह, मंसिर २७ । झापाको गौरादह र कमलको सिमानामा पर्ने लालपानी (किस्ने ) खोलामा पक्की पुलको शिलान्यास गरिएको छ ।

गौरादह नगरपालिका वडा नम्बर १ र कमल गाउँपालिकाको वडा नम्बर २ स्थित देवीचौन जोडिने सो खोलामा शनिबार एक कार्यक्रमका बीच प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की र संविधानसभाका सदस्य दिपक कार्कीले संयुक्त रुपमा पुलको शिलान्यास गरे ।
पुल शिलान्यासका क्रममा मन्त्री कार्कीले कमल र गौरादहका बासिन्दाहरुलाई पुल निर्माणले सुविधा पुग्ने बताए । पुल निर्माण समयमा सम्पन्न गर्न निर्देशन दिँदै उनले प्रदेश सरकारबाट पुल निर्माणमा बजेटको अभाव हुन नदिने समेत प्रतिवद्धता जनाए ।
पुल शिलान्यास कार्यक्रममा कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लले पुलको निर्माणपश्चात् कमल र गौरादहका बासिन्दाले खेप्नु परेको सास्तीको अन्त्य हुनुका साथै दुवै पालिकाको आर्थिक विकासमा टेवा पुग्ने बताईन् ।
प्रदेश सरकारको रु ५ करोड १४ लाख ७९ हजार रुपैंयाँको लागतमा ४०.८७ मिटर लामो हुने छ । २०७९ असार २० गतेसम्म पुल निर्माण कार्य पूरा हुने गरी काम थालिएको भौतिक पूर्वाधार विकास कार्यालय भद्रपुरका प्रमुख रमेशकुमार श्रेष्ठले बताए । पुल निर्माणको जिम्मा रौताहा–आशिशदिप –राज जेभी भद्रपुरले पाएको छ ।
शिलान्यास कार्यक्रममा गौरादह नगरपालिकाकी उपप्रमुख गिता भेट्वाल , कमल गाउँपालिका उपाध्यक्ष वेनुप्रसाद शिवाकोटीलगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि र स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्