भद्रपुर , मंसिर २८ । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भौतिक पूर्वाधार तथा निर्माण मन्त्री बसन्तकुमार नेम्बाङलाई भद्रपुर क्षेत्रमा पर्ने मुख्य सडकको स्तरोन्नतिका लागि आग्रह गरेका छन् ।

झापा आएका मन्त्री नेम्बाङलाई भद्रपुर विमानस्थलमा स्वागत गर्दै नगरप्रमुख श्रेष्ठले झापाकै सदरमुकाम रहेको भद्रपुरको चन्द्रगढी भैरवचोकबाट मेची पूलसम्मको सडकखण्ड चार लेनमा स्तरोन्नति गरिदिन आग्रह गरेका हुन् । मेची पूल निर्माण भइसकेको र सो पूलबाट अयात–निर्यात पनि बढ्दै गएकोले उक्त सडकखण्डको आवश्यकता र महत्व पनि बढेकाले जतिसक्दो चाँडो स्तरोन्नति गरिदिन आग्रह गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । मन्त्री नेम्बाङलाई लिखित प्रस्ताव पेस गरिएको नगरपालिकाकी सञ्चार संयोजक गंगा बरालले जानकारी दिइन् ।

त्यस्तै भद्रपुर ७ स्थित वीरेन्द्र माविमा योग तथा आयुर्वेदको नमुना बिद्यालय कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरिदिन पनि मन्त्री नेम्बाङलाई आग्रह गरिएको बताइएको छ । मन्त्री नेम्बाङको स्वागतार्थ विमानस्थलमा प्रतिनिधिसभा सांसद एलपी साँवा, नेकपा भद्रपुर नगर अध्यक्ष शिबकुमार राजभण्डारी, नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय महासचिव सुवास भट्टराई, होमबहादुर थापासमेतको उपस्थिति थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्