राजगढ, मंसिर २९ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई हिजो बाह्रदशी १ र ३ का विकास निर्माणका योजनाहरुको शिलान्यास र उद्घाटन गर्न भ्याइनभ्याइ भयो , कुन गर्ने र कुन नगर्ने ।

कार्यक्रमका लागि उनी हिजो बिहानै बाह्रदशी आइपुगेका थिए । तर, बेलुका ६ बजेसम्म ५ वटा योजनाको मात्र शिलान्यास र उद्घाटन गर्न भ्याए । एउटाको गर्न सकेनन् । दुईवटा वडा कार्यालय भवनको शिलान्यास , दुईवटा विद्यालय भवन र एउटा ज्येष्ठ नागरिक भवनको उद्घाटन गर्न मात्र उनले भ्याउन सके । सोलार सिंचाइँ आयोजनाको शिलान्यास कार्यक्रम छुट्यो ।

बाह्रदशी वडा नं १ र ३ ले मन्त्री कार्कीका लागि ती योजनाहरुलाई थाती राखेका थिएनन् । यसअघि पनि धेरै योजनाको शिलान्यास र उद्घाटन भइसकेका थिए । ती वडाहरुमा यतिबेला विकासको लहर शुरु भएको हो । वडाध्यक्षहरु वडा नं १ का शम्भुसिंह राजवंशी र वडा नं ३ का विरेन्द्रप्रसाद राजवंशीको सक्रियतामा यतिबेला दुवै वडाले विकासको क्रममा गति लिएको हो । अरु वडा कार्यालयहरु भाडाको घरमा बसिरहँदा दुवै वडाले सल्लाह नै गरेर एकैदिन वडा कार्यालय भवनको शिलान्यास गरे । १ र ३ को वडा कार्यालय भवनको एकैदिन शिलान्यास गरियो । मन्त्री कार्कीले दुवै वडा कार्यालय भवनको शिलान्यास गरे । आर्थिक वर्ष २०७७—०७८ मा गाउँपालिकाबाट प्राप्त वडाको १ करोड १० लाख बजेटमध्येबाट २५ लाख रुपैयाँबाट कार्यालय भवन निर्माण थालिने वडा नं ३ का वडाध्यक्ष विरेन्द्र राजवंशीले बताए ।

वडा कार्यालय भवनका लागि लखु राजवंशीले ३ कठ्ठा र जानकीदेवी कार्कीले २ कठ्ठा जग्गा निशुल्क प्रदान गरेका थिए । त्यस जग्गामा क्रमागत बजेट लगाएर वडा कार्यालय भवन निर्माण सम्पन्न गरिने वडाध्यक्ष राजवंशीले बताए । शिलान्यासपछि ठेक्का प्रक्रिया शुरु गरिने उनले जनाए ।‘तीनवटा भवन डिजाइन आएको छ’उनले भने , ‘कुन बनाउने भन्ने विषयमा छलफल हुँदैछ ।’ बाह्रदशी वडा नं ३ को वडा कार्यालय १५ महिनादेखि भाडाको घरमा संचालनमा छ । मासिक साढे १० हजार रुपैयाँ भाडा तिर्नु परिरहेको वडाध्यक्ष विरेनले बताए ।

त्यस्तै १ नं वडा कार्यालय भवनको पनि हिजै मन्त्री कार्कीले शिलान्यास गरे । गाउँपालिकाको १० लाख र वडा कार्यालयको ३८ लाख ५० हजार रुपैयाँको बजेटमा भवन निर्माण गरिने वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए । भवनका लागि दुर्गावती राजवंशीले साढे ४ कठ्ठा जग्गा निःशुल्क दान दिएकी छन् । ‘ सुविधासम्पन्न कार्यालय भवन निर्माण हुनेछ ’वडाध्यक्ष शम्भुले भने,‘ दुई वर्षदेखि ७ हजारका दरले भाडा तिर्दै आएका छौं, त्यो समस्या हल हुनेछ ।’ त्यस्तै मन्त्री कार्कीले वडा नं ३ को वडा कार्यालय भवनको शिलान्यासपछि सोही वडामा रहेको पशुपति प्रविधिक विद्यालयको नवनिर्मित भवको उद्घाटन गरे । तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत आएको ७५ लाख रुपैयाँबाट सो प्रशासनिक भवन निर्माण गरिएको हो । ‘कक्षा कोठा भएकै विद्यालय भवनबाट प्रशासनिक कामकाज चलाउने अबस्था थियो’ उनले भने, ‘ अब त्यो समस्या रहेन ।’

त्यसैगरी वडा नं १ को अमृत माविको ८ कोठाको दुईतले भवनको पनि मन्त्री कार्कीले उद्घाटन गरे । बाह्रदशी गाउँपालिका र जिल्ला शिक्षा विकास समन्वय इकाइ झापाको १ करोड १ लाख ५७ हजार ८६८ रुपैयाँको लागतमा सो भवन निर्माण भएको हो । वडा नं ३ र वडा नं १ को दुवै विद्यालय भवन सतासी निर्माण सेवा प्रालिले निर्माण गरेको हो । त्यस्तै हिजै मन्त्री कार्कीले वडा नं १ मा रहेको अढाइ तले ज्येष्ठ नागरिक भवनको पनि उद्घाटन गरे । भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश १ सरकारअन्तर्गत सहरी विकास तथा भवन कार्यालय इलामको १ करोड ३६ लाख ६५ हजार १८० रुपैयाँको लागतमा सो भवन निर्माण गरिएको हो । ज्येष्ठ नागरिक भवनलाई पदमबहादुर थापा र पूर्णमाया थापाले एक–एक कठ्ठा जग्गा निशुल्क प्रदान गरेका थिए । बाह्रदशी १ मा डिभिजन सिंचाइँ कार्यालयको सहयोगमा सोलार सिंचाइँ निर्माण हुँदैछ । हिजो त्यसको पनि शिलान्यास कार्यक्रम रहेको थियो । तर, मन्त्री कार्कीले भ्याएनन् ।

यसअघि गत साता मात्र प्रदेशसभा साँसद पूर्णसिंह राजवंशीले बाह्रदशी १ साधुपर्तिस्थित अधुवा खोलामा पक्की पुलको शिलान्यास गरेका थिए । ८ करोड ४८ लाख रुपैयाँको लागतमा त्यहाँ पक्की पुल निर्माण हुने भएको हो । त्यस्तै बाह्रदशी वडा नं १ मा ४४ लाख २२ हजार ८९७ रुपैयाँको लागतमा आधारभूत स्वास्थ्य केन्द्र, भागुडुब्बा बजारमा २० लाखको लागतमा ८ कोठे टहरा निर्माण भइरहेको छ भने २४ लाखको मलामी विश्रामालय , ३० लाखको लागतमा बिरीङ नदीमा तटबन्ध निर्माण सम्पन्न भएको छ । सोही वडामा गत वर्ष १ करोड ६१ लाख ७९ हजार ९२९ रुपैयाँको लागतमा सशस्त्र प्रहरी वलको अब्जरभेसन पोष्ट(बीओपी) स्थापना गरिएको थियो । त्यसैगरी आफ्नो वडामा भागुडुब्बा स्मार्ट सिटी , साधुपर्ति सिमसार क्षेत्र , धार्मिक तथा पर्यटकीय लक्ष्मीथान मन्दिरको ठूला योजनाहरु संचालन गर्न लागिएको वडाध्यक्ष शम्भुले बताए । ती तीनैवटा योजनाको डीपीआर तयार भइसकेको छ । यति धेरै विकास निर्माणका योजनाहरुको शिलान्यास र उद्घाटन गर्न पाउँदा मन्त्री कार्की दंग देखिए । उनले विकासका काममा सबैलाई समेटेर लैजान आग्रह गरे । बाह्रदशी ५ का वडाध्यक्ष भुपेन्द्र कट्वालले दक्षिणी क्षेत्र भएर पनि आफ्नो गाउँपालिकाले विकास निर्माणमा फड्को मारेको बताए ।

वडा नं १ को नवनिर्मित ज्येष्ठ नागरिक भवन र ३ को पशुपति माविमा छुट्टाछुट्टै कार्यक्रम गरिएको थियो । वडाध्यक्ष शम्भुको अध्यक्षतामा भएको १ को कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्की , संविधानसभा सदस्यहरु हरिबहादुर राजवंशी , अम्बिका खवास , पूर्व सहायक मन्त्री टेकनारायण राजवंशी , गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशी , प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाई ,जनप्रतिनिधि , पार्टी प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । त्यस अवसरमा ७ जना जग्गादातालाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको थियो भने ७५ वर्ष नाघेका वडाका ९४ जना बृद्धबृद्धालाई पनि ज्येष्ठ नागरिक भवनको उद्घाटनका अवसरमा सम्मान गरिएको थियो । कार्यक्रममा गायक बलराम राजवंशीले गीत गाएका थिए भने स्वागत नृत्य प्रस्तुत गरिएको थियो ।
त्यस्तै पशुपति माविमा आयोजित कार्यक्रममा वडा कार्यालयलाई जग्गा दान दिने लखु राजवंशी र जानुकादेवी कार्कीलाई सम्मान गरिएको थियो । दुवै कार्यक्रमको संचालन गाउँपालिकाका योजना अधिकृत तेजप्रसाद रेग्मीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्