बिर्तामोड , पुष १ । एउटै जाति , एउटै पेशा , एउटै पद र एउटै मन भएको जोडी पाउन सबैको नसिवमा हुँदैन ।तर, अतिसिमान्तकृत सन्थाल समुदायको एक जोडीलाई ती सबै कुरा भाग्यले जुराइदिएको छ ।

उमेरले ३६ पुगेका जिसु मुर्मु कनकाई नगरपालिका वडा नं ८ का वडा सचिव हुन् । उनकी श्रीमती ३१ वर्षिया सुनिता सोरेन पनि वडा सचिव भएकी छन् । उनी हाल मेचीनगर नगरपालिकाको १३ नं वडा कार्यालयमा काम गर्छिन् । पहिला मन मिलेर विवाह गरेको त्यस जोडीको लागि अहिले पेशा र पद पनि एउटै मिलेको छ । यसरी सबै कुरा मिलेपछि उनीहरु एकदमै खुशी र सुखी छन् । ‘ भगवानको आशिर्वादले हाम्रो सबै कुरा मिल्यो ’ सुनिता भन्छिन् ,‘ हामी एकदमै खुशी छौं ।’

बाह्रदशी गाउँपालिका २ राजगढका जिसु र मेचीनगर १३ की सुनिताले २०६८ सालमा प्रेम गरेर मागी विवाह गरेका थिए । पहिला मन मिलेर विवाह गरेका उनीहरुको पछि पेशा र भर्खरै पद पनि मिलेको हो । सुनिताले विवाह गर्नुभन्दा एक वर्ष अगाडि २०६७ सालदेखि स्थानीय तहमा काम थालेकी थिइन् । उनी सह–लेखापाल हुँदै गत मंसिर २८ गतेदेखि वडा सचिवमा बढुवा भएकी हुन् । श्रीमती सुनिताले स्थानीय तहमा काम गर्दा जिसु भने पढ्दै थिए । उनले २०७२ सालमा खरिदारमा नाम निकाले । त्यसपछि स्थानीय तहको निर्वाचन भएपछि २०७४ सालदेखि उनी कनकाई नगरपालिकाको वडा सचिव भए । श्रीमान– श्रीमती दुवैजना वडा सचिव त्यो पनि सन्थाल समुदायबाट भएको यो पहिलो उदाहरण हो । यसरी सबै कुरा पाएकोमा जिसु आफूलाई भाग्यमानी ठान्छन् । ‘ जात , पेशा र पद त्योभन्दा मन मिलेको जीवनसाथी पाएँ’ उनी भन्छन् ,‘ भाग्यमै लेखेको थियो होला ।’

मेचीनगर १३ का वडाध्यक्ष कृष्ण सिग्देलले कोसिस ग¥यो भने सफल बन्न सकिन्छ भनेर अतिसिमान्तकृत समुदायका एउटै परिवारका ती दम्पतीले गरेर देखाएको बताए । सन्थाल समुदायका श्रीमान– श्रीमतीले वडा सचिव भएर चलाएको देशकै इतिहासमा पहिलो उदाहरणीय घटना भएको उनले जनाए । हाल मेचीनगर १४ मा बस्दै आएका उनीहरुको अढाई र आठ वर्षका दुई छोरा छन् ।

झापा , मोरङ र सुन्सरी जिल्लामा आदिकालदेखि बसोबासित सन्थाल समुदाय संकटको अबस्थामा पुगेको छ । उनीहरु दिनप्रतिदिन पलायन हुँदै गएका छन् । सन्थाल जातिमै एकजना मात्र अधिकृत भएका छन् । विश्वदीप बेस्रा जो परराष्ट्र मन्त्रालयमा अधिकृतको रुपमा कार्यरत छन् । त्यस्तै कृषि सामग्री संस्थानमा एकजना सूचना अधिकारी छन् ।त्यसबाहेक स्थानीय तहमा वडा सचिवको पदमा पुग्ने जिसु र सुनिता नै हुन् । २०६८ सालको जनगणनाले सन्थाल जातिको जनसँख्या ५१ हजार ७३५ देखाएको छ । राज्यको हरेक निकायमा आफूहरुलाई बञ्चित गराइएको नेपाल सन्थाल आदिबासी उत्थान संघका जिल्ला अध्यक्ष बडाराम हेमरम बताउँछन् । ‘ हामीजस्ताको कुरा कसले पो सुन्छ र ?’ उनी गुनासो गर्छन्,‘ सबै सन्थालहरु मरेर जाँदा पनि कसैले चासो लिनेवाला छैन ।’ देशका हरेक दल र तिनका नेताहरुबाट सोझासीधा सन्थालहरुले आश्वासनबाहेक केही नपाएको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्