बिर्तामोड , मंसिर १ । विश्व बजारमा चलेको हुन्डाई कम्पनीको महँगो ब्रान्डेड गाडी ‘क्रेटा’को ढोका कुहिने आमसमस्याले उपभोक्ताहरु हैरान भएका छन् ।

कुहिएको ढोका

अहिले करिव ६५ लाख रुपैयाँ पर्ने सो गाडीको ढोका कुहिएर धुलो, धुँवा र पानी भित्रै छिर्ने र रंग पनि छिट्टै उक्किने समस्याले उपभोक्ताहरु हैरान भएका हुन् । एक–दुई जना मात्र नभएर धेरै उपभोक्ताहरुलाई यो समस्या परेको हो । आफ्ना समस्याका बारेमा हुन्डाईको बिर्तामोड सोरुमलाई गएर भन्दा बेवास्ता गरेपछि उनीहरुले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् ।

उक्किएको रंग

बिर्तामोड शाखामा गएर पटकपटक समस्याका बारेमा अवगत गराउँदा ‘तपाईहरु जेसुकै गर्नुस्’ भनेपछि आफूहरु बाध्य भएर पत्रकारमाझ आएको बिर्तामोडका कुमार उप्रेतीले बताए । उनले अन्य उपभोक्ताहरु पनि नठगिउन् भनेर आफूहरुले सजग गराउन खोजेको बताए । क्रेटा गाडी किनेका सबैले पत्रकार सम्मेलनमा गाडी ल्याएर ढोका कुहिने समस्या देखाए । करिव तीन वर्षअघि चारपानेका फणिन्द्र तिम्सिनाले ४९ लाख ७५ हजार रुपैयाँमा क्रेटा किनेका थिए । तर, किनेको डेढ वर्षमै उनको बा १५ च ९६३९ नं. गाडीको ढोका कुहिन थाल्यो । उनले त्यसबारेमा बिर्तामोडको सोरुममा कुरा राखे । तर, सोरुमका व्यवस्थापक सन्तोष काफ्लेले ‘हामी त्यसलाई बनाउन सक्दैनौं’ भनेर पन्छिएको तिम्सिनाले बताए ।

कुहिएको अर्को गाडीको ढोका

आफूले त्यत्रो महँगो मूल्यमा किनेको गाडी बनाइदिनु पर्छ भन्दा सोरुमले ढोकामा पुटिङ लगाइदिन्छौं भनेर गैरजिम्मेवार जवाफ दिएको उनले गुनासो गरे । उनले आफ्नो गाडीमा पानी चुहिएर र ढोकाबाट पानी पसेर बस्नै नसक्ने अबस्था रहेको जनाए । त्यस्तै अर्का उपभोक्ता अशोक चौधरीले पनि त्यही समस्या भोगेका छन् । २०७६ बैशाख ६ गते उनले १९ मोडलको क्रेटा किनेका थिए । तर, उनको बा २१ च ५२५२ नं. गाडीको ढोका पनि कुहिन थालिसक्यो । त्यसबारेमा बिर्तामोड सोरुमका यामनाथ बिमलीलाई भन्दा वास्ता नगरेपछि आफूहरु पत्रकारमाझ आएको उनले बताए । गाडी बिक्री गर्ने बेलामा विभिन्न आश्वासन दिने सोरुमले गाडीमा समस्या आउँदा आफ्नो जवाफदेहिता निर्वाह नगरेको उनले गुनासो गरे ।

पत्रकार सम्मेलन गर्दै पीडितहरु

४ वर्षअघि क्रेटा किनेका बिर्तामोडका मोहन उपे्रती आफू पनि यो समस्याबाट शतप्रतिशत पीडित भएको बताउँछन् । ५२ लाखमा किनेको बा १६ च ७१८६ नं गाडी डेढ वर्षमै ढोका कुहिने र रंग उक्किने समान समस्याले आफू पनि प्रभावित भएको उनले बताए । त्यस्तै ३ वर्षअघि सिंहबहादुर सिंहले खरिद गरेको ९३९६ नं को क्रेटा गाडीमा पनि त्यही समस्या देखिएको छ । ढोका र रंगरोकनमा समस्या आएपछि आफूले सोरुमलाई कम्प्लेन गर्दा सुनुवाई नभएको सिंहको गुनासो छ । ‘ यसमा कम्पनी होइन सोरुम जिम्मेवार हुनु पर्छ’ उनले भने ,‘ गाडी बिक्री गर्यो अनि पन्छियो त्यस्तो हुँदैन ।’ सेकेन्डहेन्ड पुरानो गाडीलाई डेन्टिङपेन्टिङ गरेर आफूहरुलाई नयाँ भनेर झुक्याएको ती उपभोक्ताहरुले दावी गरेका छन् । आफूहरुको गाडी साटेर नयाँ दिनुपर्ने उनीहरुको माग रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्