बरतलाल राजवंशी,
कुमरखोद । हुलाकी राजमार्गको झापा–मोरङ सडकखण्ड अन्तर्गतको झापा गाउँपालिकामा सडक निर्माण कार्य तिव्र रुपमा शुरु भएको छ । जसबाट झापा गाउँपालिकामा आशा र उत्साह थपिएको छ ।

सरकारले ६ भागमा विभाजन गरी झापा र मोरङमा हुलाकी राजमार्गको ठेक्का लगाएसँगै झापाको राजगढदेखि मेची पुलसम्म कालोपत्रे पिचको काम सम्पन्न भईसकेको छ । राजगढदेखि रतुवा पुलसम्मको २८ किलोमिटर सडकखण्डको निर्माण गर्ने ठेक्का पाएको मोतीदान कन्स्ट्रक्सन कम्पनीले कामलाई तिव्रता दिएको हो । पहिलो चरणअन्तर्गत पानी निकासको लागि कल्भर्टहरु निर्माण भइसकेको र दोस्रो चरणमा राजमार्गको दुवैपट्टि नाला बनाउने कामलाई तिव्रता दिएको इन्जिनियर सन्दिप शाक्यले बताए ।
शाक्यका अनुसार हुलाकी राजमार्ग अन्तर्गत राजगढदेखि रतुवा पुलसम्म मोतीदान कन्स्ट्रक्सनले २८ कि.मी. बाटो निर्माण गर्नका लागि ७५.५ करोड रुपैयाँमा ठेक्का पाएको हो । २०७६ साल असोेज २४ गते संझौता गरेको कम्पनीले काम सम्पन्न गर्ने मिति २०७९ साल असोज २४ गते रहेको छ । ईन्जिनियर शाक्यले अहिले ३ वटा कम्पनीहरु मोतीदान कन्स्टक्«सन , पि..एस. कन्स्ट्रक्सन र गजुरमुखी कन्स्टक्«सन कम्पनीले मिलेर हुलाकी राजमार्गको कामलाई तिव्रता दिएको बताए ।

झापा गाउँपालिकाले संघीय सरकार सडक डिभिजन निर्देशनालयको निर्देशनमा सडकको केन्द्रविन्दुदेखि १५–१५ मिटर बाटो खाली गर्नुपर्नेमा गाउँको बाटो सानो हुने भएकोले १२–१२ मिटर सडक खाली गर्ने काम धमाधम भईरहेको छ । त्यस्तै झापा बजारलाई भविष्यमा स्मार्ट सिटी बनाउने उद्धेश्यले रजत जयन्ती चोकदेखि १५ सय मिटर टाढा पंचम चोकसम्म हुलाकी राजमार्गको केन्द्रविन्दुवाट १५–१५ मिटर सडक खाली गराउने काम धमाधम भईरहेको अध्यक्ष जयनारायण शाहले बताए । अध्यक्ष शाहले हुलाकी सडक विस्तारले झापा गाउँपालिकाको विकासमा ठूलो टेवा पुग्ने बताए । ‘यहाँका जनतालाई प्रदेश नं १ को राजधानी विराटनगर जान नजिक हुने, सदरमुकाम चन्द्रगढी र भद्रपुर काम गर्न सजिलो हुने , किसानले उब्जाएको उत्पादनहरु सहजै भद्रपुर र विराटनगर पठाउन सक्नेछन्’उनले भने । हुलाकी सडकको निर्माणले झापा गाउँपालिकाको मुहार परिवर्तन हुने कुरामा अन्य जनप्रतिनिधि पनि आशावादी देखिएका छन् । झापा गाउँपालिका वडा नं २ का वडाध्यक्ष नेत्रबहादुर खड्का भन्छन्‘ हुलाकी राजमार्ग बनेपछि जग्गाजमिनको मूल्यांकन बढ्छ , झापा बजार स्मार्ट सिटी बन्छ र जनताले यातायातको सुविधा पाउँछन ।’
त्यसैगरी वडा नं ४ का वडाध्यक्ष राजु भारतीले हुलाकी राजमार्ग बनेपछि स्थानीय जनतालाई यातायातको सुविधा मिल्ने बताए । ‘जग्गा जमिनको भाउ वढ्छ, वसोवास बढ्छ’उनले भने ,‘जिल्ला र प्रदेश धाउन सजिलो हुन्छ , कल–कारखानाहरु खोलिन्छन् अनि बेरोजगारी घटेर आउँछ ।’
झापा गाउँपालिका वडा नं १ का समाजसेवी माधवकुमार पोखरेलले पनि हुलाकी बाटो निर्माण भएपछि स्थानीय वासिन्दाहरुलाई आवतजावत गर्न सजिलो हुनेसँगै सदरमुकाम र प्रदेशको राजधानी विराटनगर पुग्न सहज हुने धारणा राखे ।
पूर्व–पश्चिम हुलाकी राजमार्गले तराईका २० जिल्लाहरुमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ ।पूर्वमा केचनादेखि पश्चिममा कंचनपुर दोधारा चाँदनी सम्मको भू–भागलाई यसले जोड्ने छ । १७९२.४२ किमी. लम्बाईमा कालोपत्रे हुनेछ भने साना ठूला गरी १२५ वटा पुल निर्माण हुने छन् ।



