दमक,पुष २ । पछिल्लो समय दमकमा वजार अनुगमनलाई तीव्रता दिईएको छ । दमकमा नगरपालिकाले उपभोक्ता अधिकारको रक्षा र बजार व्यवस्थापनका लागि लगातार बजार अनुगमनमा तीव्रता दिएको हो ।

दमक नगरपालिका बजार अनुगमन समितिका संयोजक भीमप्रसाद पौडेलको नेतृत्वमा कर्मचारी, प्राविधिक तथा उपभोक्ता अधिकारकर्मीहरुसहितको टोलीले केही दिनयता बजार अनुगमन गरेको हो । टोलीले दमकका केही पेट्रोल पम्प, मासु पसल, खाद्य तथा किराना पसल, दुग्ध व्यवसाय, होटललगायतमा अनुमगन गरेको थियो । अनुगमनका क्रमका केही पसलमा खाद्य मिति गुज्रिएका बस्तु पनि भेटिएको र तत्कालै नष्ट गराईएको संयोजक पौडेलले बताए ।
यस्तै पेट्रोल पम्पहरुमा गरिएको अनुगमनका क्रममा मात्रात्मक ठगी नदेखिएको भएपनि मिसावटको अवस्थाका बारेमा भने प्रयोगशाला परीक्षण जरुरी रहेको उपभोक्ता हित संरक्षण मञ्चकी केन्द्रीय उपाध्यक्ष सुवर्णप्रभा गुरागाँईले जानकारी दिइन् ।

अनुगमनका क्रममा केही होटलहरुमा भने भान्साकोठा फोहोर भेटिएकाले सरसफाईमा ध्यान दिन टोलीले आग्रह गरेको छ । अनुगमनमा नगरपालिकाका विज्ञ, कर्मचारीसहित उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष गुरागाँई,केन्द्रीय सदस्य मेघराज श्रेष्ठ, प्रदेश उपाध्यक्ष तथा दमक अध्यक्ष डा. नविन चापागाँईलगायतको सहभागिता रहेको थियो ।
यस्तै मञ्चको टोलीले नगरपालिका परिसरमा नै उपभोक्ता सचेतना कार्यक्रम समेत सञ्चालन गरेको थियो । जसमा केन्द्रीय उपाध्यक्ष गुरागाँई, दमक कोषाध्यक्ष सुमित्रा वाङ्देललगायतले उपभोक्ता शिक्षाका बारेमा सर्वसाधारणलाई जानकारी दिएका थिए ।

बजार अनुगमनअघि मञ्च एवम् नगरपालिकाको आयोजनामा उपभोक्ता अधिकारबारे कानून निर्माण, बजार व्यवस्थापन, खाद्य स्वच्छता विषयमा अन्तरक्रिया समेत गरिएको थियो । नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उपभोक्ता अधिकारको रक्षा र बजार व्यवस्थापनका लागि नगरपालिका नयाँ ऐन ल्याउन तयार रहेको बताए । कुनै पनि बहाना र कारणले बजारमा ठगी हुने अवस्था सिर्जना हुन नदिईने उनले प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्