भद्रपुर, पुष ३ । हुलाकी सडकअन्तर्गत लिङ्क रोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको देउनिया खोला उत्तर निर्माण ठेकेदारको लापरवाहीले सडक दुर्घटना बढाएको भन्दै स्थानीयले आक्रोस पोखेका छन् ।

निर्माण कार्यको गुणस्तरमाथि समेत प्रश्न उठेको सो सडकखण्डमा निर्माण सामग्री जथाभावी थुपारेर वर्षौं वितिसक्दा पनि काम नगरेपछि पुल तथा कल्भर्ट क्षेत्र दुर्घटनास्थल बनेर यात्रुको ज्यान जोखिममा परेको भन्दै स्थानीयले आक्रोस पोखेका हुन् । यस क्षेत्रमा रातविहान हिड्ने यात्रुबाहक सवारी साधन जथाभावी थुपारिएको गिटी बालुवाका कारण दुर्घटनामा परिरहेको स्थानीय बताउँछन् ।
३ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सडक निर्माणको पाँचौं वर्ष वित्न लाग्दा समेत अधकल्चो रहेको भएपनि नियामक मौन रहेको पाइएको छ ।
सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले गरेको कामको गुणस्तर अनुगमन गर्ने जिम्मेवारी पाएको हुलाकी सडक परियोजनाका प्राविधिक निर्माणस्थलमा नबस्दा गुणस्तरमाथि प्रश्न उठेको स्थानीय राकेश लिम्बुको भनाइ छ । निर्माण व्यवसायीले सम्झौताविपरित निर्माण सामग्री प्रयोग गरिरहेपनि सरकारी पक्ष रमिते मात्र हुँदा निर्माण व्यवसायीको मनोमानी चलिरहेको स्थानीय बताउँछन् ।

निर्माण पक्षले नाली बनाउने, कल्भर्ट बनाउने, वेश ग्राभेल भर्ने, ग्राभेलिङ गर्ने, आधार पिच तयार गर्ने र पिच निर्माण गर्ने गरी विभिन्न टुक्रामा काम गरिरहेपनि हुलाकी सडक परियोजनाका प्राविधिक निर्माणस्थलमा कमै जाने गरेका छन् । गुणस्तरमाथि निगरानी नहुँदा निर्माण पक्षधरका मजदुरकै तजविजमा काम भैरहेको देखिने गरेको छ । दुई खण्डमा कम्पनीले निर्माण गरिरहेको नाली तथा कल्भर्टका काम गुणस्तरहीन भएको, ग्राभेलिङको काम पनि नियमविपरित रहेको, आधार कालोपत्रेको कामसमेत गुणस्तरीय नभएको स्थानीयले बताएका छन् । निर्माण गुणस्तर तथा नियन्त्रण गर्ने हुलाकी सडक परियोजनाका इञ्जिनियरले कामको गुणस्तरियता र ढिलासुस्ती रोक्न सकिरहेका छैनन् ।

नेकपा भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारी हुलाकी सडक परियोजना, जिल्ला प्रशासन कार्यालय झापालगायत निकायमा साँघुरा ठाउँमा सडकमा जथाभावी निर्माण सामग्री छोडेर पुल , कल्भर्टजस्ता संवेदनशील क्षेत्रमा दुर्घटना जोखिम बढाउने निर्माण ठेकेदारलाई कारवाही गर्न माग गरिएको भएपनि कारवाही नभएको बताउँछन् ।
सो सडकको साविक पृथ्वीनगरको सोमवारे उत्तरको चारआलीसम्मको २० किलोमिटर सडक निर्माणका लागि याक्थुम्बा–कञ्चनजंघा जेभीले ठेक्का लिएर काम गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्