भद्रपुर, पुष ४ । सनसाईन बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० चन्द्रगढी झापाले सातौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

जिल्ला सहकारी संघ झापाका लेखा समिति सदस्य भलाकाजी कठेतको प्रमुख आतिथ्यतामा बिर्तामोडमा शनिवार आयोजित कार्यक्रमका बीच साधारणसभा सम्पन्न गरिएको हो ।
संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद रिजालले संस्थाको सांगठनिक बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै १३ सय ५ जना शेयर सदस्यहरु रहेको सहकारीमा हाल १ करोड ३३ लाख ८२ हजार ७ सय रुपैया शेयर पूँजी रहेको बताए ।
उनले संस्थाका शेयर सदस्यहरुले कोरोना भाईरसका कारण वा अन्य कारणले कुनै पनि सदस्यहरुले भोक तथा रोगबाट मर्न नपरोस् भन्ने अभियान सहकारीले ल्याएको बताउँदै आगामी दिनहरुमा सहकारीले आफ्ना शेयर सदस्यहरुका लागि पेन्सनको व्यवस्था गर्ने योजना रहेको जानकारी दिए ।

अध्यक्ष रिजालले संस्थाले वैज्ञानिक तरिकाले कर्जा लगानी गर्ने गरेको बताउँदै कृषि कर्जा , बैदेशिक कर्जालगायतका विभिन्न कर्जाहरुको सहकारीले व्यवस्था गरेको उल्लेख गरे ।
कार्यक्रममा उत्कृष्ठ ऋणी पुरस्कारवाट नारायणसिंह हजाम र पूर्णमाया श्रेष्ठ तथा बचतकर्ता मित्रप्रसाद चम्लागाई, नरबहादुर बस्नेत र टिकादेवी कोईरालालाई नगदसहित कदरपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कठेत , युवा तथा साना स्वरोजगार कोष झापाका सदस्य सचिव सन्तोष सापकोटालगायतले मन्तव्य राखेका थिए ।
रिजालको अध्यक्षता तथा लेखा समिति संयोजक बालकृष्ण बाँस्तोलाको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत कोषाध्यक्ष शान्ति राईले गरेकी थिइन् ।

२०७० सालबाट झापाको भद्रपुर तथा हल्दीवारी क्षेत्रलाई कार्यथलो बनाएर ३९ जना शेयर सदस्यसहित गठित सहकारीको हाल बिर्तामोडमा एक सेवाकेन्द्र रहेको छ भने निकट भविष्यमै झापाको चारआली र काँकडभिट्टामा सेवाकेन्द्र खोल्ने योजना रहेको सहकारीले जानकारी दिएको छ । उक्त सहकारीमा हाल २ करोड १० लाख ८७ हजार ७ सय ५१ रुपैयाँ कुल बचत तथा १२ लाख २२ हजार १ सय १७ रुपैयाँ नाफा रहेको उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्