बिर्तामोड , पुष ४ । बिर्तामोड ३ स्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य स्वास्थ्य उपचार राहत कोषको रकम ६० लाख पुर्याएको छ । त्यस कोषबाट प्राप्त व्याज र निर्देशिकामा उल्लेख भएबमोजिम परेका निवेदनलाई छानविन गरी संस्थाले सदस्यहरुलाई उपचार सहयोग गर्दै आएको जनाएको छ ।

संस्थाको ११ औं वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मोहन शिवाकोटीले सो जानकारी दिएका हुन् । उनले सो कोषबाट १२ जना सदस्यलाई १० हजारका दरले उपचार सहयोग गरिएको बताए । त्यस्तै सदस्य सुत्केरी पोषण खर्चवापत ५ हजारका दरले १३ जनालाई प्रदान गरिएको बताउँदै अध्यक्ष शिवाकोटीले २० हजारका दरले तीन जनालाई सदस्य काजक्रिया खर्च , १० हजार र ५ हजारका दरले १६ जनालाई सदस्य परिवारको लागि काजक्रिया खर्च सहयोग गरिएको जानकारी दिए ।
२०६३ सालमा ५३ जनाले स्थापना गरेको विराटमा हाल १५६६ महिला र १२६४ पुरुष गरी २९०८ जना सदस्य रहेका छन् ।शेयर पूँजी ६ करोड , ७९ लाख ९४ हजार २ सय रुपैयाँ रहेको संस्थाको कर्जा २२ करोड , ५३ लाख ७६ हजार ५३० र बचत २६ करोड ६ लाख २४ हजार १७८ रुपैयाँ रहेको छ । कोरोना महामारीका बीच आफ्ना सदस्यहरुलाई निरन्तर सेवा प्रवाह गरेको विराटले १५ लाख ३२ हजार ४९६ रुपैयाँ ब्याज छुट गरी सदस्यहरुलाई केही हदसम्म राहत प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ । सदस्य काजकिरिया खर्च ,सदस्य परिवारका लागि एम्बुलेन्समा १० प्रतिशत छुटलगायतका सुविधा प्रदान गर्दै आएको विराटले शेयर सदस्यहरुको सुविधाका लागि यसै वर्षदेखि आफ्नै भवनमा सुलभ सहकारी पसल संचालन गर्ने योजनासमेत राखेको अध्यक्ष शिवाकोटीले बताए ।

त्यस्तै गत वर्ष डेढ करोडभन्दा बढीको आफ्नै भवन निर्माण गरेको बिर्तामोड ३ स्थित विराट सहकारीले अर्को भवन पनि बनाउने भएको छ । संस्थाले गत वर्ष करिव १ करोड ६५ लाखको लागतमा आफ्नै भवन निर्माण गरेको थियो । चारतले सोही भवनमा कारोबार संचालन गरिरहेको विराटले बिर्तामोड ४ मा अर्को भवन निर्माण गर्न लागेको हो । मुक्ति चोकबाट ५ सय मिटर दक्षिण पुरानो भद्रपुर रोडले छोएको ठाउँमा विराटले भवन निर्माण गर्नका लागि २ करोड ६९ लाख ५० हजार रुपैयाँमा १९.२५ धुर जग्गा खरिद गरेको संस्थाका अध्यक्ष शिवाकोटीले बताए ।
विराटले १५ औं वार्षिक साधारणसभाको प्रक्रिया गत मंसिर २६ गतेदेखि शुरु गरेको थियोे । जसको आज समापन गरिएको हो ।

बिर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार उमानाथ ओली , सल्लाहकार एवं अनारमनी पब्लिक क्याम्पसका अध्यक्ष राजकुमार पोखरेल , नारी संचार गृहका भीमा शिवाकोटीलगायतले मन्तब्य राखेका थिए । संस्थाको लेखा प्रतिवेदन लेखा समितिका सदस्य होमनाथ उप्रेतीले प्रस्तुत गरेका थिए । कोषाध्यक्ष काजी बुढाथोकीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव रुद्र सिटौलाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्